
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस)को अध्यक्ष पदमा सुभाष श्रेष्ठसहित आधा दर्जनले दावेदारी पेश गर्ने भएका छन् ।
नेकोसको यहि फागुन ७ देखि ९ गते सम्म विराटनगरमा आयोजना हुने ‘दोश्रो राष्ट्रिय महाधिवेशन’मा आधा दर्जनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राष्ट्रिय महाधिवेशन सुरु हुन दुई साता अगावै यसको सरगर्मी बढ्दै गएको छ भने राष्ट्रिय रुपमानै चर्चा परिचर्चा समेत हुन थालेको छ । नेकपा एमाले निकटको भातृ संगठन नेकोस खेलकुद क्षेत्रको महत्वपूर्ण संगठनको रुपमा रहेको छ ।
संगठनको अध्यक्ष पदका लागि राष्ट्रिय खेलकुद परिषदका पूर्व वोर्ड सदस्य सुभाष श्रेष्ठसहित प्रभात विक्रम कटुवाल, ओम प्रसाई, पर्शुराम बस्नेत, चेतनराज गिरी, सुदर्शन गुरुङ र राखेपका वोर्ड सदस्य रहेका मानदेव हजाराको नाम चर्चामा रहेको छ ।
अध्यक्षको दावेदारी पेश गरेका श्रेष्ठ नेकोस दोश्रो राष्ट्रिय अधिवेशन आयोजक कमिटिको स्थायी कमिटी सदस्य हुन । उनी नेपाल ब्याडमिन्टन संघको उपाध्यक्ष, नेपाल टेकबल संघको अध्यक्ष तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका पूर्व उपाध्यक्ष समेत हुन् ।
आफ्नो उम्मेदवारीका विषयमा पोखरा स्पोर्टस संग कुरा गर्दै श्रेष्ठले संगठनलाई गति दिन आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने–“म लामो समय देखि खेलक्षेत्रमा आफ्नो समय खर्चिदैं आएको मात्रै छैन खेल क्षेत्रको समस्याका बारेमा समेत उत्तिकै जानकार छु ।” आफूले नेकोसको स्थापनाकाल देखि नै संगठनको विकास र विस्तारका लागि भूमिका खेल्दै आएको बताउँदै संगठनको मर्म र नेकोसमा आवद्ध खेलकर्मीहरुको नेतृत्व समेत आफूले गर्ने उनले दावी गरे ।
आइटिएफ तेक्वान्दो संग आवद्ध सिनियर प्रशिक्षक चेतनराज गिरीले समेत आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । नेकोस विशुद्ध खेलकर्मीहरुको संगठनको रुपमा विस्तार गर्दै नेपाली खेलकुदको जगलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो ।
नेकोसको अध्यक्षको उम्मेदवारीको चर्चामा रहेका पर्शुराम बस्नेत बलियो उम्मेदवारको रुपमा हेरिए पनि संगठन भित्रै बाट उनी विरुद्ध आवाज उठ्न थालेको बताइन्छ । “भूगोल देखि केन्द्र सम्म एउटै व्यक्ति हरेक पटक अघि सर्नुले पनि राम्रो सन्देश दिंदैन, त्यसैले पनि उनी विरुद्धको आवाज उठ्न थालेको हो । संगठनको लोकतान्त्रिक प्रक्रियाले को बलियो छ र कसले निर्वाचन जित्छ अहिले नै ठोकुवा भने गर्न गाह्रो छ” एक उम्मेदवारले भने ।
यता संगठनको महासचिव पदका लागि समेत उत्तिकै चर्चा हुन थाले मात्रै छैन आ–आफ्नो दावेदारीका साथ आन्तरिक प्रचार पनि उत्तिकै तिव्र हुन थालेको छ । महासचिव पदका लागि उमेश केसी, शान्ता मायाँ परियार, धर्म श्रेष्ठ, रामकृष्ण खड्का र धरम लामाको नाम चर्चामा छ ।
महासचिव पदका दावेदार उमेश चेसका अन्तर्राष्ट्रिय आर्बीटर समेत हुन् भने शान्ता मायाँ राजनितिक रुपमा समेत चर्चामा रहेकी व्यक्तित्व हुन् ।