
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चमान गुरुङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका पहल गर्ने बताएका छन् ।
यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको समेत जिम्मेवारी सम्हालेका मन्त्री गुरुङको सम्मानमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन् । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले देश विकासका लागि खेलकुदको महत्व अहम हुने भएको बताउँदै यस संगै पूर्वाद्धारहरुको विकास समेत हुनुपर्ने कुरामा जोड दिए ।
आफूलाई स्वागत र सम्मान गरेकोमा आभार प्रकट गर्दै मन्त्री गुरुङले भौतिक संरचना नहुँदा प्रदेशको खेलकुद विकासको गति अघि बढ्न नसकेको तर्फ इंगित गर्दै भने–“हामी अव छिट्टै नै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने विषयमा मुख्यमन्त्री ज्यू संग छलफल भएको छ र उहाँ पनि यस विषयमा सकरात्मक हुनुहुन्छ ।” उनले गण्डकी प्रदेशमा आइस हक्कीको लागि समेत अन्तर्राष्ट्रिय आइस हक्की महासंघले जग्गा उपलव्ध गराउन आग्रह गरेको बताउँदै यस्ता पूर्वाद्धारहरु निर्माण हुन सके खेलकुदले गति लिने बताए ।
खेलाडीका लागि आफ्नो मन्त्रालयको ढोका संधै खुला रहने बताउँदै मन्त्री गुरुङले आवश्यक सल्लाह सुझावका लागि समेत आग्रह गर्दै सहयोगको प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै राखेपका सदस्य राजेश कुमार गुरुङले खेलकुद विकासका लागि सबैलाई समेटेर अघि बढ्न मन्त्री गुरुङलाई आग्रह गरे ।
साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, क्षेत्रिय निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।
मन्त्री गुरुङलाई पोखरा रंगशालामा विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीहरुले स्वागत गरेका थिए ।