
पोखरा स्पोर्टस । भारतको मेघालयको राजधानी शिलङमा सम्पन्न एक अन्तर्राष्ट्रिय प्याराग्लाडिङ प्रतियोगितामा बिजेता गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान गरेको छ ।
गत दिसेम्वर ७ देखि १० तारिख सम्म भएको प्रतियोगितामा नेपालबाट सहभागि मध्ये ९ जना खेलाडीहरुले पदक जितेका हुन् । परिषदले बिहिबार एक कार्यक्रमको आयोजना गरी खेलकुदको माध्यमबाट पोखरालाई चिनाउन सहयोग गरेको भन्दै सम्मान गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले बताएका छन् । उनले खेलाडीहरुलाई सम्मान गर्दै प्याराग्लाइडिङ खेलले नेपाललाई चिनाउन अहम भूमिका खेलेको छ । खेलाडीहरुको अथक मेहनतका लागि परिषदका तर्फबाट म बधाई दिन चाहन्छु ।”
प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले प्याराग्लाइडिङ खेलको विकासका लागि परिषद संघै तयार रहेको जनाउँदै यसका लागि आवश्य बजेट निर्माण लगायत अन्य कार्यमा परिषदले संधै साथ दिने बताए ।
सो अवसरमा बोल्दै परिषदका सदस्य तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष बसन्त दवाडीले प्याराग्लाइडिङ खेलले विगत साढे दुई दशक देखि निरन्तर गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा पहिचान दिन भूमिका खेलेको बताउँदै उनले यसको संरक्षण र सम्वर्द्धनका लागि पहल गर्न परिषदको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपालले उक्त प्रतियोगितामा दुई स्वर्ण, तीन रजत हात पारेको थियो । प्रतियोगिताको ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप तथा एसियन लिग च्याम्पियनशिपमा नेपालले टिम एक्युरेसीतर्फ एक स्वर्ण र एक रजत पदक प्राप्त गर्दा इन्डिभिजुअलतर्फ पुरुष तर्फ एक स्वर्ण तथा महिला तर्फ एक स्वर्ण र एक रजत प्राप्त गर्न सफल भएको थियो ।
प्रतियोगितामा टिम इभेन्टतर्फ नेपाली टोली सुशिल गुरुङ, अमन थापा, बिजय चौलागाई, सनिज थापा र जय मनीको टोलीले स्वर्ण पदक र टिमतर्फ विजय गौतम, विष्णु तिमिल्सिना, विशाल थापा, युवराज सुनुवार र सुमन जङ्ग थापाको टोलीले रजत पदक हात पारेको थियो । नेपालबाट एक्यूरेसीमा दुइ टिमले सहभागिता जनाएका थिए ।
त्यसै गरी एक्युरेसी महिला इन्डिभिजुअलमा रितु श्रेष्ठले स्वर्ण पदक हात पार्दा कृषु पौडेलले रजत पदक र पुरुषतर्फ इन्डिभिजुअलमा अमन थापाले रजत पदक प्राप्त गरेका थिए ।
पाँच देशका नेपाल सहित भारत, सिङ्गापुर, इन्डोनेशिया, कोरियाका गरी कुल १ सय १० खेलाडी र १८ टिम सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट ११ खेलाडीको सहभागिता रहेकोमा गण्डकीबाट ९ जना खेलाडीको सहभागिता थियो ।
कार्यक्रममा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङका पदक खेलाडीहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो । सो अवसरमा प्याराग्लाइडिङ खेलाडी विजय गौतमले समेत आफ्ना भनाई राखेका थिए ।