
पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकीले सदस्य सचिवको नियुक्ति प्रक्रिया रोक्नु खेलकुद माथीको हस्तक्षेप भन्दै विरोध गरेको छ ।
संघले शुक्रबार एक प्रेस विज्ञप्तीमार्फत उक्त कुरा जनाएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्य सचिव नियुक्तिका लागि सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरी ९ जनाको निवेदन समेत परिसकेको अवस्थामा रोक्न खोजेको भन्दै तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । संघले भनेको छ–“विज्ञापन समेत निकाली नियुक्ति प्रक्रिया सुरु गरे पछि प्रक्रिया रोक्नु खेलकुद माथीको हस्तक्षेप हो ।”
यता सदस्य सचिवका लागि दरखास्त पेश गरेका श्रीधर शर्मा र सरोज महतोले पुष १४ गते काठमाण्डौका विरेन्द्र खड्का र भक्तपुरकी मुना बासुकला समेत ९ जनाले दरखास्त हालेको भन्दै प्रक्रिया रद्ध नर्गन तथा ९ जना मध्येबाट नियुक्ति प्रक्रिया सुरु गर्न उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका छन् ।
सदस्य सचिव पद नियुक्ती प्रकृयाको लागी यूवा तथा खेलकुद ऐनको दफा १७ (३) बमोजिम युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा गण्डकी प्रदेश मन्त्री परिषदको २०७९ मंसिर २८ को बैठकको निर्णयबाट सिफारिस समिति गठन गरेको थियो । सोही निर्णयको आधारमा मन्त्रालयले सात दिने सूचना प्रकाशित समेत गरेको थियो ।
नेपाल खेलकुद महासंघले केही दिन अघि मात्रै काम चलाउ सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको थियो भने बिहिबार उच्च अदालत पोखराले नियुक्ति प्रक्रिया रोक्न यूवा तथा खेलकुद मन्त्रालयलाई अन्तरिम आदेश समेत दिएको छ ।