
पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । धरान फुटबल क्लब पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप २०७९’ फुटबल प्रतियोगितामा आयोजक सहारा विरुद्ध जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लबको आयोजनामा ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथसुरु भएको २२ औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई १—० गोल अन्तरले पराजित गर्दै धरान अन्तिम आठमा स्थान बनाएको हो । हार संगै सहारा खेलबाट बाहिरिएको छ ।
राष्ट्रिय खेलाडी अनन्त सम्मानित
प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट नेपाली राष्ट्रिय फुटबल टोलीका अनन्त तामाङलाई नगद रु ५० हजार पाँच सहित सम्मान गरिएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ लगायतले तामाङलाई सम्मान गरेक थिए ।
खेलको पहिलो हाफको पाँचौँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोलले जित निकाल्न पर्याप्त भयो । सहाराका भावगत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरे पछि धरान सोही गोलले बिजयी भएको हो ।
सम्पन्न खेलमा एक मात्र गोलगर्ने बुढाथोकी खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भए ।
प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब सहित दस टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।
प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल एकेडेमीमा तेश्रो व्याचका १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा रंगशालालाई रातीमा समेत खेल्न मिल्ने गरी फल्ड् लाइट हाल्न पोखरा महानगरले सहयोग गर्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै एन्फाका वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले राष्ट्रिय लिग अन्तर्गत पोखरामा २० वटा खेलहरु सञ्चालन हुने गरी तय भएको बताएका छन् ।