
पोखरा स्पोर्टस । यहि पौष १४ गतेबाट पोखरामा हुने २२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सहारा क्लब पोखराद्वारा मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करणको तयारी पुरा भएको जनाएको हो ।
सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई
सहारा क्लबले विगतका वर्षहरुमाझैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधि सहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको हो ।
पुरस्कारको राशि रु ५० हजार पाँच रहेको छ । गत वर्षका तुलनामा पुरस्कार राशिमा रु १५ हजार पाँच थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसक्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल भने आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि समेत् गरेको छ । क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।