स्पेनबाट नेपाल हिंड्यो स्पेनिस टोली, राजदुत ढकालले गरिन बिदाई

टोली भोली सोझै पोखरा आउने

पोखरा स्पोर्टस । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडेको छ ।

कतार एयरको विमानबाट टोली दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलीलाई सोमबार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदुत डा. शर्मिला पराजुली ढकालले बिदाई गरेकी हुन् ।

बिदाईको अवसरमा राजदुत डा. ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक–अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन ।

‘नेपाल एउटा शान्तिप्रेमी देश हो । नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ । नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ स्पेनिस टिमको बिदाईका क्रममा राजदुत डा. ढकालले भनिन्, ‘तपाईहरुको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियाल मडिर्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

‘शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौं ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने बताइएको छ ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close