
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।
गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा बागलुङलाई ३—२ सेटले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । फाइनल खेलमा पहिलो सेट २१—२५ ले गुमाएको स्याङ्जाले दोस्रो र तेस्रो सेट समान २५—२३, २५—२३ ले आफ्नो पक्षमा पार्दा चौथो सेट २८—३० ले गुमायो । यसैगरी अन्तिम र निर्णायक खेलमा १५—१३ ले जित्दै स्याङ्जा विजयी बनेको हो ।
प्रतियोगितामा विजेता बनेको स्याङ्जाले उपाधि सहित नगद रु दुई लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बागलुङले नगद रु एक लाख र प्रमाणपत्र हात पारेको छ । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा नवलपुरले कास्कीलाई हराएको ३—२ सेटले पराजित गरी तृतीय बन्दै नगद रु ५० हजार पुरस्कार पायो । चौथो स्थान हासिल गरेको कास्कीले सान्त्वाना स्वरुप नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा स्याङ्जाका हरि पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २० हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट सर्भर नवलपुरका घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, उत्कृष्ट सेटर बागलङका मीन सुनार र उत्कृष्ट प्रशिक्षक स्याङ्जाका राजेन्द्र शर्मा घोषित हुँदै जनही रु १० हजारका दरले नगद पुरस्कार हात पारे ।
प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यक्ष नविन कुमार गुरुङले जनाएका छन् । प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता थियो ।
प्रतियोगितामा बिजेता टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, सचिव श्रिधर शर्मा, टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङलगायतले नगद मेडल तथा ट्रफी वितरण गरेका थिए ।
समापन समारोहमा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी र पूर्व राष्ट्रिय खेलाडी सरोज महतोलाई सम्मान गरिएको थियो ।