
पोखरा स्पोर्टस । प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगितामा बागलुङले बिजयी सुरुआत गरेको छ । गण्डकी प्रदेश भलिबल संघको आयोजना बुधबारबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ बिजयी भएको हो ।
उद्घाटन खेलमा बागलुङले पर्बतलाई अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । पहिलो सेट २५–२३ ले पर्वतलाई रोक्न सफल भएको बागलुङले दोश्रो सेटमा समेत २५–२३ ले नै जित्न सफल भयो । तेश्रो सेटमा समेत २५–२३ ले बागलुङले जित्दै उद्घाटन खेलमा बिजयी बन्न सफल भयो ।
बुधबार नै सम्पन्न अन्य दुई खेलमा स्याङजा र कास्की विजयी भएका छन् । एक खेल भने स्थागित भएको आयोजकले जनाएको छ । स्याङजाले गोरखा विरुद्धको खेलमा सहज रुपमा जित निकालेको छ । सोझो ३–० को सेटमा गोरखालाई पराजित गर्न सफल स्याङजाले पहिलो र दोश्रो सेट २५–१७, २५–१७ ले जित्यो भने तेश्रो सेटमा २५–२१ ले जित्न सफल बन्यो ।
यसै गरी आज नै सम्पन्न एक अर्को खेलमा कास्कीले बलियो मानिएको तनहुँ जिल्लालाई ३–१ को सेटमा पराजित गरेको कास्की टिमका व्यवस्थापक लेखनाथ लम्सालले जनाएका छन् । पहिलो सेट २५–१७ ले जित्दै दबाबमा राख्न प्रयास गरेको कास्कीले दोश्रो सेटमा भने निकै प्रतिष्पर्धात्मक खेलमा २८–२६ ले आफ्नो पक्षमा राख्न सफल रह्यो । तर तनहुँ खेलमा फर्किदैं तेश्रो सेटमा २५–२३ ले जित निकाल्यो । तर चौथो सेटमा भने कास्कीले २५–२३ ले जित्दै तनहुँलाई पराजित गर्न सफल बन्यो ।
प्रतियोगिता अन्तर्गत बिहिबार ६ खेलहरु हुने प्रदेश भलिबल संघका महासचिव टहल सिंह थापा मगरले जनाएका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले प्रदेशको खेलकुद विकासका लागि परिषद सबै खेलकुद संघहरु संग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले खेलाडीको उत्पादन र खेलको विकासका लागि यस प्रकारका कार्यक्रमहरुले सहज हुने बताउँदै भलिबल खेलको विकासमा सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे ।
यसै गरी पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत तथा टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले भलिबल खेलको विकासका लागि प्रदेश भलिबल संघ संग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे । कार्यक्रममा प्रदेश भलिबलका उपाध्यक्ष हरि बहादुर श्रेष्ठले समेत आफ्नो भनाई राखेका थिए ।
आगामी पौष १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको सहभागिता रहेको छ ।