१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत भलिबल र बास्केटबलका खेल सुरु

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट अनौपचारिक रुपमा बुधबारबाट सुरु भएको छ ।

स्पोर्टस मिट अन्तर्गत पोखरा रंगशालामा आजबाट छात्र–छात्र भलिबल र बास्केटबलका खेलहरु सुरु भएको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका हुन् । प्रतियोगिता अन्तर्गत छात्र भलिबल प्लस टु लेभलतर्फ तर्फ पहिलो दिन ९ र छात्रातर्फ ८ खेल सम्पन्न भएको भलिबल खेलका संयोजक किरण सापकोटाले जनाएका छन् ।

प्लस टु छात्र भलिबलमा ग्लोबलले साइनिङ स्टारलाई, सबलाइमले न्यू लाइटलाई, सिर्जनाले पोखरा आदर्शलाई, सगरमाथाले जुनियर सिटिजन एकेडेमीलाई, डायमण्डले शिसुनिकेतनलाई सोझो २–० सेटमा पराजित गरेका छन् । त्यसै गरी हाभर्डले पिकेजीलाई, भाष्करले रत्नज्योतीलाई पश्चिमाञ्चलले मदरल्याण्डलाई, न्यू मोडलले गुरुकुललाई यूनिभर्सले लिटिल फ्लावरलाई पराजित गर्न सफल भएको संयोजक सापकोटाले जानकारी दिए ।

यसै गरी प्लस टु छात्रातर्फ माउन्ट अन्नपूर्णले यूनिभर्सलाई, रत्नज्योतीले लिटिल स्टेपलाई, त्रिवेणीले बालोदयलाई, डायमण्डले पोखरा आदर्शलाई पराजित गरेका छन् ।

प्रतियोगिता अन्तर्गतनै बुधबार पहिलो दिन प्लस टु छात्रा बास्केटबलका पहिलो चरणका ८ खेलहरु सम्पन्न भएको बास्केटबल प्रतियोगिता संयोजक खिम गुरुङले बताएका छन् ।

शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजना गरिएको हिसान कास्कीले जनाएको छ । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।

१५ औं हिसान स्पोर्टस मिटको पुष ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close