खेलकुदले अर्थ्याएको जिवन–“अझै पनि ठिटो नै छु”–पराजुली

“खेलकुद यस्तो विद्या हो जसले जिवनका हरेक मोडहरुमा अघि बढ्न संधै प्रेरित गर्छ । खेलाडीको जिवनमा आउने दुःख, पिडा, हाँसो र रोदन पनि सहजै पचाईदिन सक्छ । हारको गम्भिर समिक्षा गर्न र जितमा समेत सबैको आँखामा खुसीको आँसु झार्न सक्ने क्षमता राख्छ,” ति सबै कुरामा पोख्त व्यक्तित्व हुन् हरिप्रसाद पराजुली । जिवनको ६१ बर्षे पाइला पछ्याइ रहेका उनी हाँस्दै भन्छन्–“खेलकुदले अर्थ्याएको जिवनमा अझै पनि ठिटो नै छु ।”

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी पराजुली नेपाली राष्ट्रिय टिमका तत्कालिन ‘लेफ्टी स्पाइकर’को रुपमा चर्चित उनी २०३४ सालमा यूवा उमेरबाट पहिलो पटक विरेन्द्र शिल्ड भलिबलमा सहभागिता जनाएका उनले खेलकुदबाट कहिल्यै पछि फर्किएर हेर्नु परेन । न त उनी कहिले डगमाउन पुगे । जित र हारलाई समभावी दृष्टिकोणबाट लिएर अघि बढेका उनले खेलकुदबाटै जागिरे जिवनमा प्रवेश गरे । उच्च तहमा पुगे । अहिले पनि उनी आफू पूर्व कार्यरत रहेको कृषि विकास बैंकमा सञ्चालक समितिको सदस्य समेत् छन् ।

खेलकुदमा आफू प्रभावित हुनुको विषयलाई समेत उत्तिकै गम्भिर भएर उत्तरित छन र भन्छन्–“धेरै मानिसको अगाडी उपस्थित हुन सकिने, धेरै साथी भाईहरुसँग घुलमिल भइने संगै सामाजिक सद्भाव बाड्ँन सकिने, खेलकूद मार्फत देश विदेश जान पाईने लोभले डोर्‍यायो । जुन आज पर्यन्त जारी छ ।” उनले आफ्नो जिवन कालमा ति सबै पुरा गरेका छन् । उनको खेलकुदको योगदानले नै उनलाई सामाजिक अभियानमा सक्रिय बनाइ रह्यो । चाहे त्यो नेपाली अग्रज खेलाडीहरुको अध्यक्ष जस्तो गरिमामय पदमा बसेर होस वा अन्य दर्जनौं संस्थाहरुमा सल्लाहकारको भूमिकामा उनलाई खेलकुदे अर्थ्याएको जिवनलाइ अघि बढाएका छन् ।

खेलुकदमा उनको आकर्षण यस्तो थियो की २०३५ मा एसएलसी दिएर बसेको समयलाई समेत खेलकुदमा नै अग्रसर गराए । २०३६ मा एसएलसी उर्तिण गरी पि.एन क्यापसमा अध्ययन गर्न सुरु गरे । पिएनमा तत्कालिन समयमा खेलकुदको माहोलले उनलाई झनै ढपक्क ढाक्यो । त्यस पछि उनले पछि फर्किएर हेर्नु परेन । उनको भलिबल मोहले राष्ट्रिय खेलाडीको रुपमा स्थापित गराइ छोड्यो । उनले भने–“क्यापसमा अन्तर संकाय प्रतियोगितामा भाग लिई साइन्स फ्याकल्टीबाट उपविजेता हुदाँ अब मेहेनेत गरेराम्रो खेलाडी हुन सकिन्छ भन्ने उत्साह जाग्यो,” उनी थप्छन्–“क्याम्पसको टिममा परी अन्तर क्याम्पस प्रतियोगितामा प्रथम भईयो ।” त्यस पछि उनी तत्कालिन गण्डकी अञ्चलबाट टिममा परे ।

गण्डकी अञ्चलबाट उनले दर्जनौ प्रतियोगितामा सहभागिता जनाए । उनले प्रथम राष्ट्रिय खेलकूद २०३८ र २०४० को दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम हुँदा उनी टिमको प्रमुख खेलाडीको रुपमा थिए । यस संगै अन्तर १०औँ राष्ट्रिय भलिबल प्रतियोगिता २०३९ दोश्रो, दोस्रो अन्तरनगर राष्ट्रिय खेलकूद २०४१ प्रथम, अन्तर क्याम्पस भलिबल प्रतियोगिता २०३८ प्रथम, अन्तर क्यापस भलिबल प्रतियोगिता २०४१ प्रथम हुँदा समेत उनको भलिबल यात्रा जारी थियो । उनको यो भलिबल यात्राले नवौं एसियाली खेलकुद १९८२ मा नेपाली राष्ट्रिय टिममा सहभागिता जनाएका थिए भने जापानमा सन १९८३ मा सम्पन्न तेस्रो एशियन च्याम्पीयनसिप भलिबलमा समेत नेपालको प्रतिनिधित्व गरे । २०४३ सालमा १२ औं राष्ट्रिय भलिबलमा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

खेल संगै खेलाडीको जिवनमा शिक्षा समेत उत्तिकै महत्वपूर्ण रहेको पराजुली बताउँछन् । खेलाडीका लागि खेलकुद र शिक्षा संग–संगै कठिन जस्तो लाग्ने विषयलाई समेत उनले त्यसलाई सहज रुपमा ग्रहण गर्दै उच्च शिक्षा हासिल गरे । जसका कारण उनले जिवनलाई खेलकुदमार्फत सामाजिक रुपान्तरणका लागि नेतृत्वदायी भूमिका समेत अघि बढाउन भूमिका समेत् खेल्यो । २०३६ सालमा आइएस्सी भर्ना भएका उनले आफ्नो खेल अभ्यासलाई जारी पनि राखे भने अध्ययनलाई समेत । यो उनको खेल जिवनबाट सिक्नु पर्ने सबै खेलाडीका लागि महत्वपूर्ण पाटो समेत हो । उनले २०४० सालमा विएड हेल्थ एण्ड फिजिकल एजुकेशनमा स्नातकतह पुरा गरे ।

तत्कालिन समयमा नेपाल आर्मीमा अन्तर पल्टन (किङ्स ब्यानर) खेलकूद हुन्थ्यो । त्यसै शिलशिलामा २०३९ सालमा शेरगणमा भर्ना हुने अवसर पाए र २०४२ साल सम्म नै आर्मीबाट खेल खेले, त्यसपछि २०४२ सालमा कृषि विकास बैकले आयोग खुलायो र परिक्षा दिई २०४२ साल फागुनबाट कृषि विकास बैकमा जागिर सुरु गरे । खेल जिवनमा नै उनले खेलकुद र जागिरे जिवनमा २०४३ सालमा एक खेलाडी सहकर्मी मैयाँ पराजुली संग लगनगाँठो कसे । श्रीमती  मैयाँ एथलेटिक्सकी राष्ट्रिय खेलाडी समेत हुन् । 

संयोग के भने त्यस ताका अन्तर संस्थान खेलहरु हुन्थे । त्यसै क्रममा कुषि विकास बैक भलिबल खेलको आयोजना गर्थ्यो । जुन उनका लागि सुखद भयो । अनि जागिर अभ्यासलाई सँगसँगै लानु पर्ने भयो । कुषि विकास बैकको टिम तयार गर्ने क्रममा साँझ बिहान प्रशिक्षणमा जानु पर्थ्यो । तत् वेलामा उनी सहित् नेपालका अन्तर्राष्ट्रिय खेलाडी दिपक सापकोटा, बलराम क्षेत्री, देवी सुवेदी र राष्ट्रिय खेलाडी दिपक भट्टराई, हरी बिष्णु मल्ल, बद्री सुवेदी, मोहन चौधरीको टिम थियो । कृषि विकास बैकको नं १ टिममा गनिन्थ्यो । उनले २०४९ सालसम्म अन्तर संस्थान खेल खेले र पछि नेपाल राष्ट्रिय बैकले आयोजन गर्ने अन्तर बैक भलिबल प्रतियोगिता २०६२—२०६९ सम्म खेले । २०७२ सालमा बैकको सेवा ३० बर्ष पुरा गरी अधिकृत प्रथम श्रेणीबाट अवकाश समेत लिए ।

अनि त्यस पछि…………..२०५८ सालमा पुर्व खेलाडीहरु संगठित हुनुपर्छ भनी नेपाल भूतपूर्व खेलाडी मञ्च गठन गरे । त्यसै संस्थामा स्थापना देखि विभिन्न पदमा रही सेवा गरेको र हाल अध्यक्ष पदमा रही, संस्थालाई नेतृत्व दिई खेलकूद विकासका कार्यक्रममा सहभागी हुदै आएका छन् । खेलकुदमा एक नेपाली खेलाडीको यात्रा सफल देखिन्छ ।

खेलकूद भनेको शारिरीक कृयाकलाप र क्षमता (सिप) प्रदर्शन गरी अर्को व्याक्ति वा समुहसँग गरिने प्रतिस्पर्धा हो भन्ने पराजुलीको राम्रो बुझाई छ । खेलकूदले विद्यार्थीको शारिरीक तन्दुरुस्त वृद्वि गरि शारिरीक क्षमतामा वृद्वि गराउने संगै शिपको पनि विकास तथा खेलकूदलाई प्रतिस्पर्धा र मनोरञ्जन गराउने माध्यम रहेको उनी बताउँछन् । खेलकूदमा व्यक्तिको सहभागिताले विश्वसनियता र अनुभव बढाई व्याक्तित्व बढ्ने र टिमवर्कको विकास गरी सहनशिल र अनुशासित नागरिक बनाउन प्रमुख भूमिका खेल्ने उनको स्पाष्टता छ । खेलकूदमा लाग्दा समय व्यवस्थापन गरी समयनिष्ठ हुन सिकाउने अनि मित्रवत भावना स्थापीत गराउनुका साथै दैनिक हुने शारिरीक कृयाकलापले दिर्घ रोगबाट समेत समाप्त हुने उनी बताउँछन् ।

समाजमा खेलकूदलाई हेर्ने दृष्टिकोणमा समेत पराजुलीको स्पष्ट धारणा छ । उनी यसलाई अत्यन्तै महत्वपुर्ण बिषयको रुपमा हेर्छन् । समावेशिता र लैङ्गिक समानता खेलकुदमा अपरिहार्य हुनु पर्ने उनको बुझाई छ । “सवैका लागि खेलकुद”को अहम पाटोलाई हरेक नागरिकले वुझेमा मात्रै एक सफल खेलाडीको रुपमा स्थापित हुन सक्ने पराजुलीको भनाई छ । नियमित प्रशिक्षण, नियमति शिक्षा, चरणवद्ध खेलकुद प्रतियोगिताले मात्रै खेलाडी स्थापित हुनुको महत्वलाई उनी जोड् दिन्छन् ।

खेलकूदमा लागेर निरन्तर खेल्न सक्ने खेलाडी हुनुमा उत्तिकै चुनौतीहरु रहेको पराजुली बताउँछन् । आर्थिक रुपले व्यवस्थित भएमा मात्रै खेलाडीले अभ्यास एवं प्रतियोगिताहरुमा ढुक्कसँग खेल्न सक्ने उनको भनाई छ । खेलाडीले दैनिकी समस्याको व्यवस्थापन गर्न र बिमा व्यवस्था सुनिश्चितताका लागि समेत उनी जोड दिन्छन् भने खेलकुदका पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्नेमा समेत् उनको त्यतिकै जोड छ ।

खेलकुदमा पूर्वाधार निर्माणमा लगानीले राज्यको अर्थतन्त्र बलियो बन्न सक्ने मात्रै नभई अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनमा समेत उत्तिकै प्रभावकारी भूमिका खेल्ने उनको ठम्याँई छ । खेलकुदमा आफ्नो जिवनको करिव चार दशक पार गरेका पराजुली भन्छन्–“खेलाडीको रुपमा लामो समय बिताई फरक प्रकृतिको जागिर खाँदै खेलकूदलाई समेत् अगाँल्दै खेलकूदको विकासमा सहयोग गरी रहन पाउदा रमाइलो मात्रै होइन अझै १८ वर्षे ठिटो भएको महशुस गरेको छु ।”

2 Comments

  1. दुईपटक पढे,हरीदाजु सम्मानीय व्यक्तित्व हुनुहुन्छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close