
पोखरा स्पोर्टस । पोखरा रंगशालामा ‘ओभर हेड’ पानी ट्याङ्कीको निर्माण कार्य सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पोखरा रंशगालामा पानीको अभाव हटाउन उक्त निर्माण कार्य सुरु गरेको जनाएको हो । पोखरा रंगशालाको पूर्वतर्फको भागमा निर्माण सुरु गरिएको ओभर हेड पानी टयाङ्कीको निर्माण कार्य गत आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित १ करोड रकमबाट सुरु गरिएको पोखरा रंगशालामा कार्यरत प्राविधिक अनिल अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
यहि आर्थिक वर्ष २०७९ असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त ओभर हेड’ पानी ट्याङ्की १ लाख लिटरको हुने काठमाण्डौको निर्माण कम्पनी विडारी कन्स्ट्रक्सन प्रालिले जनाएको छ । निर्माण कम्पनीले भने उक्त निर्माण कार्य सम्पन्न गर्न ८० लाखमा ठेक्का लिएको जनाएको छ । निर्माण कम्पनिले पानी ट्याङ्की निर्माणका लागि जग खन्ने कार्यलाई अघि बढाएको छ ।
१९.२ मिटर लम्वाई र ४.२ मिटरको रेडियसमा फैलिएको उक्त ओभर हेड’ पानी ट्याङ्कीको निर्माण सम्पन्न भए पछि पोखरा रंगशालामा पानीको अभाव समाप्त हुने प्राविधिक अधिकारीले जनाए । टयाङ्कीको निर्माण पश्चात बोरिङबाट निकालिएको पानीलाई पोखरा रंगशालाको सबै भागमा वितरण गरिने उनले बताए ।
पोखरा रंगशालामा मुख्य गरी फुटबल स्टेडियम, बहुउद्धेश्यिय कभर्डहल, व्याडमिन्टन हल, टेवुल टेनिस हल, मार्शल आर्ट हल, भलिवल ट्रेनिङ सेन्टर, बास्केटबल कोर्ट, टेनिस कोर्ट, आर्चरी खेल मैदान, स्केटिङ पार्क, स्क्वास तथा र्याकेट हल, क्रिकेट खेल मैदानलगायत अन्य ठाउँमा पानीको प्रवाह नहुँदा खेलाडी तथा दर्शकहरुले लामो समस्या भोग्दै आएका छन् ।