१५ औं हिसान कास्की स्पोर्टस मिट पौष ६ गतेबाट सुरु हुने

स्पोर्टस मिट अन्तर्गत भलिबल, बास्केटबल, व्याडमिन्टन र टेबुल टेनिस हुने

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी सुरु भएको छ ।

शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजनाका लागि तयारी सुरु  गरिएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।

हिसान स्पोर्टस मिट यहि पुष ६ गतेबाट पोखरा रंगशालामा अनौपचारिक रुपमा सुरु हुने छ भने पुष ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले पोखरा स्पोर्टसलाई जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा  विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् ।

स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान कास्कीका उपाध्यक्ष दिवाकार जैशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close