बंगलादेशमा सेन्ट्रल जोन खेल्न जाने भलिबल टोलीलाई बिदाई

पोखरा स्पोर्टस । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बङ्गबन्धु एशियन यु–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली भलिबल टोलीलाई आईतबार विदाई गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामना सहित बिदाई गरेका हुन् ।

खेलाडीहरुलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिताको आवश्यकता रहेको भन्दै खेलाडीहरुलाई राष्ट्रको झण्डा उचाल्दै नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना प्रदान गरे । यसै क्रममा बंगलादेश जाने टोलीका लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोग बापत नगद १ लाखको चेक अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई हस्तान्तरण गरे ।

यस्तो छ नेपाली टोली
बंगलादेश जाने टोलीमा धिरोज कुमार बस्नेत, रवी के.सी., सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल वि.क., सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकास जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ्ग (लिवेरो) रहेका छन् । यस्तै टिम मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् । यसैगरि टिम ब्यवस्थापकमा जितेन्द्र श्रेष्ठ रहेका छन् ।

पौष ७ गते देखि ११ गते सम्म संचालन हुने प्रतियोगिता राउण्ड रोविनको आधारमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । टोली सोमबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सोही क्रममा सेन्ट्रल एशिया भलिबल एसोशियसनले प्रथम पटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एशिया भलिबल एसोशियसन विच भलिबल इन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुन जाने महिला तथा पुरुष भलिबल टोलीलाई पनि आजै बिदाई गरियो ।

टोलीमा महिला तर्फ कोपीला उप्रेती र कमला पुन तथा पुरुष तर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार रहेका छन् । यस्तै टिममा प्रशिक्षकको रुपमा राष्ट्रिय भलिबलका पूर्व कप्तान तथा विच भलिबल खेलाडी भरत शाह र अफिसियलमा संघकी सदस्य जुनु पुन मगर रहेका छन् । प्रतियोगिता बंगलादेशको कोक्स बजारमा पौष ११ गते देखि १६ गते सम्म संचालन हुने छ । विच भलिबल टोली एक सप्ताह पछि त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close