
पोखरा स्पोर्टस । ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’ यहि पौष ६ गते देखि १० गते सम्म पोखरा रंगशालामा सुरु हुने भएको छ ।
गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’मा प्रदेशका ११ जिल्लाले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ । त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्याका खेलाडीलाई जनही नगद १०–१० हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले बताए ।