
पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतमा सम्पन्न प्याराग्लाइडिङ खेलमा नेपाललाई सफलता हात लागेको छ ।
भारतको मेघालयको राजधानी शिलङमा सम्पन्न प्रतियोगितामा नेपालले दुई स्वर्ण, तीन रजत हात पारेको हो । यहि दिसेम्वरमा सम्पन्न ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप तथा एसियन लिग च्याम्पियनशिपमा नेपालले टिम एक्युरेसीतर्फ एक स्वर्ण र एक रजत पदक प्राप्त गर्दा इन्डिभिजुअलतर्फ पुरुष तर्फ एक स्वर्ण तथा महिला तर्फ एक स्वर्ण र एक रजत प्राप्त गर्न सफल भएको छ ।
यहि दिसेम्वर ७ देखि १० तारिख सम्म भएको प्रतियोगितामा टिम इभेन्टतर्फ नेपाली टोली सुशिल गुरुङ, अमन थापा, बिजय चौलागाई, सनिज थापा र जय मनीको टोलीले स्वर्ण पदक हात पारेको छ भने टिमतर्फ नै विजय गौतम, विष्णु तिमिल्सिना, विशाल थापा, युवराज सुनुवार र सुमन जङ्ग थापाको टोलीले रजत पदक हात पारेको छ । नेपालबाट एक्यूरेसीमा दुइ टिमले सहभागिता जनायेका थिए ।
त्यसै गरी एक्युरेसी महिला इन्डिभिजुअलमा रितु श्रेष्ठले स्वर्ण पदक हात पार्दा कृषु पौडेलले रजत पदक प्राप्त गर्न सफल भइन् । पुरुषतर्फ इन्डिभिजुअलमा अमन थापाले रजत पदक हासिल गरेका छन् ।
पाँच देशका नेपाल सहित भारत, सिङ्गापुर, इन्डोनेशिया, कोरियाका गरी कुल १ सय १० खेलाडी र १८ टिम सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट ११ खेलाडीको सहभागिता रहेको थियो ।
नेपाली टोलीलाई प्रतियोगितामा सहभागिता जनाउन नेपाल हवाई खेलकुद संस्था (ना) र पायलट क्लबले सयुक्त रुपमा ५० हजार नगद सहयोग गरेका थिए । तर प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीहरुको व्यक्तिगत खर्च ठूलो रहेको सहभागि खेलाडीले जनाएका छन् ।
नेपालको झण्डा खेलकुद मार्फत विश्वमा फहराउन महत्वपूर्ण योगदान दिने खेलाडीलाई आवश्यक सहयोग गर्न राज्य र सम्वन्धित निकायहरुको ध्यान जानुपर्ने उनीहरुको भनाई छ ।