
पोखरा स्पोर्टस । पोखरा बसपार्क, आज भन्दा तिन दशक यात्रु हरदम सजग रहनु पर्ने । केही न केही घटना नघटेको दिन हुँदैन्थ्यो । तर त्यसलाई मत्थर गर्न नयाँ युग प्रारम्भ भयो । युवाहरु जुटे । बसपार्क सरसफाई र देउसी भइलोबाट सुरु भएको अभियानले अन्ततः सहारा क्लवको जन्म भयो । पोखरा बसपार्क अनुशासित नागरिकहरुको थलोको रुपमा मात्रै विकास भएन पोखरामा फुटबलको नयाँ इतिहास कोर्न समेत प्रारम्भ भयो ।
क्लवको स्थापना संगै २०५८ मा क्याराभान कपले पोखरामा व्यवसायिक फुटबल प्रतियोगिताको उदय भयो । त्यस लगतै अर्को वर्षबाट सुरु भयो आहा ! रारा गोल्ड कप । २१ वर्ष वितिसक्यो आहा ! रारा गोल्ड कपको । आहा रारा राष्ट्रियस्तरमा मात्रै विश्वको ध्यान खिच्न सफल भयो । अनि सहारा एकेडेमीको स्थापना भयो । एकेडेमीको स्थापनाको मुख्य जग थियो– आहा ! रारा गोल्ड कप ।
पोखराको प्रतिष्ठित उद्योग हिम श्री फुड्स । उद्योगपती तथा समाजसेवी स्व. सूर्य बहादुर केसी । स्व.केसीले मात्रै नभई स्वयं सहारा क्लव पोखराले समेत दुई विचको सम्वन्धलाई स्थापित गर्न भूमिका खेले । त्यो यात्रा दुई दशक मात्रै नभई पुनः २०७९ बाट दश वर्षको लागि स्थायी सम्वन्ध सुरु भएको छ । आगामी १० वर्षका लागि । अहिले उद्योगपती केसी हामी विच छैनन । तर केसीको पाइला पछ्याउँदै उनको परिवारले सहारा संगको सम्वन्धलाई झनै कसिलो बनाउने तर्फ अघि बढेको छ । यो नेपाली खेलकुदको इतिहासमा निजी क्षेत्रले गरेको गौरवमयी एकल यात्रा हो । जसमा सहारा र हिम श्री फुड्स उदाहरण बनेर उभिएका छन् । यता सहाराका संस्थापक अध्यक्ष वसन्त थकालीबाट हिम श्री फुड्स संग क्लवले राखेको जग २१ वर्ष सम्म आइपुग्दा विक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा र हरिराम गुरुङ ‘सुरज’को हातमा आईपुगेको छ । निरन्तर त्यही यात्रामा । फुटबलको विकासको उद्धेश्य प्राप्तीका लागि ।
सहारा क्लव पोखराले हिम श्री फुड्स संगको यात्रा लाई मंगलबार पोखरामा एक कार्यक्रम गरी नयाँ अध्यायको प्रारम्भ गरेको छ । २१ वर्ष देखिको निरन्तर यात्रा अव १० वर्षका लागि अघि बढेको मात्रै नभई साक्षी बनेर खेलकुदको इतिहासमा खेलप्रेमीहरुका विच नयाँ आयाम बनेर उभिएको छ । केसीको स्वर्गारोहण पछि हिम श्री फुड्सको कार्यकारी समेत रहेकी उनकी श्रीमती प्रेम कुमारी केसीले आफ्ना दुई छोरा प्रकाश र किरणलाई दायाँ वायाँ राखेर सम्झौतामा हस्ताक्षर गरिन् । प्रकाश र किरण सोही उद्योगका निर्देशक समेत हुन् । यो सहारा र हिम श्री फुड्सको लागि एक खोस्टो सम्झौता नभई खेलकुद विकासको लागि दुई संस्था विचको अविष्मरणिय यात्रा रहेको सम्झौता पश्चात बोल्ने वक्ताहरुको भनाई थियो ।
२१ वर्षको यात्रा समाप्त गरी थप १० वर्षका लागि गरिएको सम्झौता कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ, हिम श्री का निर्देशक किरण केसीलगायतले यो सम्वन्धको विकासले नौलो आयाम थप्ने बताए । हिम श्री फुड्सले प्रत्येक वर्ष आहा रारालाई १० लाख नगद दिएर मुख्य प्रायोजा गर्दै आएको आगामी वर्षहरुमा दश वर्षका लागि प्रत्येक वर्ष १५ लाख दिनेछ । हिम श्रीले आहा रारा लाई प्रदान गर्ने कुल रकम ३ करोड ५० लाख हुन आउँछ । अब २२ औं संस्करणको प्रतियोगिता आगामी पुस १४ देखि पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् ।
हिम श्री र सहारा विचको सम्वन्धको विकास खेलकुदमा निजी क्षेत्रको लगानी बढाउन नयाँ अध्याय हुने मात्रै नभई कुनै पनि संस्थाहरुको विचको सम्वन्धको विकास कसरी अघि बढ्न सक्छ भन्ने एक अध्ययन समेत हुनेछ ।
जय सहारा जय खेलकुद !
तस्विरः सुदर्शन रञ्जित