
पोखरा स्पोर्टस । पोखरा हक्की क्लवले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मान गरेको हो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फ रजत र पुरुषतर्फ गण्डकीले काश्य पदक जितेको थियो । पोखरा हक्की क्लवका संस्थापक समेत रहेका पूर्व राष्ट्रिय खेलाडी हित गुरुङले खेलाडीहरुको सम्मानका लागि एक–एक जोर गरी करिव ३६ जोर ट्रयाक सुट प्रायोजन गरेका थिए । हित गुरुङ हाल कोरियामा कार्यरत रहेका छन् । उनी कोरियामा रहे पनि पोखराको हक्की खेलको विकासका लागि विभिन्न समयमा खेल सामाग्री संगै खेल पोशाकहरु वितरण गरी खेलाडीहरुलाई हौसला दिंदै आएका छन् ।
खेलाडीको सम्मान तथा विदाई कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका खेलाडीहरुले गरेको उच्च पदर्शनका लागि बधाई दिंदै पोखरा रंगशालामा नै प्रशिक्षणको व्यवस्था मिलाउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले भने–“हक्कीका खेलाडीहरुको लगाव देख्दा निकै प्रशंसनिय छ । पोखरा रंगशालामा नै मैदान निर्माण गरी खेलाडीहरुको प्रशिक्षणको व्यवस्था गर्न मेरोतर्फबाट सक्दो पहल र प्रयास हुनेछ ।”
राखेप सदस्य गुरुङले कोरियामा रहेर पनि हित गुरुङले खेलेको भूमिकाका लागि आभार व्यक्त गर्दै खेलाडीहरुलाई आफ्नो अध्ययन संगै खेललाई अघि बढाउन आग्रह गरे । उनले हक्की खेलाडीहरु र खेलप्रति आफ्नो अटुट सम्वन्ध रहेको बताउँदै आफ्नो प्रशिक्षणलाई जारी राख्न आग्रह समेत गरे ।
यसै गरी नवौं राष्ट्रिय खेलकुदमा हक्की खेलको व्यवस्थापकको भूमिकामा रहेका नविन गुरुङ ‘डिवी’ संगै हक्की खेलाडी नानु गुरुङ र रोमन गुरुङलाई समेत पोखरा हक्की क्लवले विदाई गरेको छ । नविन हाल जापानमा कार्यरत रहेका छन् ।
व्यवस्थापक नविनले पोखराको हक्की खेलको विकासका लागि विगतमा जस्तै सहयोग गर्ने बताउँदै उनले खेलाडीलाई धैर्य भएर खेल्न आग्रह गरे । आफू छैटौं राष्ट्रिय खेलकुदमा सहभागि हुँदाको क्षण घाइते भएर उपचार समेत नपाएको गुज्रिएको अवस्था भन्दा अहिले खेलाडीहुनुमा गौरवको विषय रहेको बताउँदै खेल संगै अध्ययन समेत उत्तिकै आवश्यक रहेको कुरा औंल्याए ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, कव्वडीका प्रशिक्षक हरि जिशीले समेत खेलाडीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा पुजा पुनले समेत आफ्ना भनाई राखेकी थिइन् ।