अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस : शिवसुन्दर र राजेन्द्र च्याम्पियन

पोखरा स्पोर्टस । शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान्स सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम प्रा.लि. को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । ललितपुर टीटी क्लबका नवीनबहादुर शाक्य र सीवाइसी टीटी क्लबका रविन्द्र शाक्य तेश्रो भए ।

राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सीधा सेटमा १२–१०, ११–१ र ११–३ ले हराए । सीवाइसीका राजेन्द्र वज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने ।

भेट्रान्स पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र वज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सीवाइसी टोलीलाई ३–१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदीश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिार पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले कांस्य जितेका थिए ।

सोही प्रतियोगिताका दौरान यु–१६ ब्वाइज÷गर्ल्सको एकिकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपीएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए ।

भेट्रान्सतर्फ कुल पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु–१६ का पदक विजेतालाई १ लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो ।

विजेतालाई टेबलटेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनकै अवसरमा भेट्रानमा सहभागीहरुको ‘लक्की ड्र’ गराइ १ विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहे । भेट्रान्समा ७० तथा यु–१६ मा २८ खेलाडी सहभागी थिए ।

गौतम उपाध्यक्षमा मनोनित
टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् । गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close