२० औं एशियाली खेलकुदमा नेपाल ३२ खेलमार्फत ४३४ खेलाडी सहभागि हुने

पोखरा स्पोर्ट्स । आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानको आइचि र नागोयामा हुने २० औं गृष्मकालीन एशियाली खेलकुदमा नेपालले ३२ खेलमार्फत कुल ४३४ खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार आयोजक कमिटीको तालिका अनुसार सन् २०२५ जुन ३० सम्म कुन खेलमा सहभागी हुने भन्ने दर्ता प्रक्रिया सम्पन्न भएकोमा विभिन्न राष्ट्रिय खेल संघको सिफारिसका आधारमा ३० खेल दर्ता गरिएको हो ।

एनओसीले खेलाडी संख्याको अन्तिम दर्ता सेप्टेम्बर १६ भित्र ‘इन्ट्रि बाई नम्बर’ गर्नुपर्ने तालिका अनुसार पुनः संघहरुलाई पत्राचार गरी सहभागी हुन सक्ने खेलाडीहरुको विवरण मागेको थियो । सो क्रममा तेक्वाण्दो र फुटबलले खेलाडी संख्यासहित इभेन्ट पठाएपछि यी दुई खेल थपिएको जनाइएको छ ।

एथलेटिक्स संघले भने कुनै जवाफ नदिएपछि विगतको सहभागिता हेरेर एनओसीले नै लामो दुरी म्याराथनका पुरुष र महिला गरी २ खेलाडी दर्ता गरेको जनाएको छ ।

२० औं गृष्मकालीन एशियाली खेलकुदमा नेपालले ३२ खेलमार्फत २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको एनओसीका महासचिव राजिव श्रेष्ठले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close