
पोखरा स्पोर्टस । साइकल सिटी पोखराले एक कार्यक्रमका विच ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरेको छ ।
पोखरामा आइतबार एक कार्यक्रमको आयोजना गरी ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरेको हो । ‘स्वास्थ्य, वातावरण र पर्यटनको लागि साइकल’ भन्ने नाराका साथ ‘छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । उक्त कार्यक्रमलाई यो वर्षबाट टुर दि पोखरामा समावेश गरिएको छ । उक्त प्रतियोगिता पोखराको रानीवनमा हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ३०, २० र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजक भने पोखरा महानगर खेलकुद विकास समिति रहेको छ ।
त्यसै गरी ‘छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ । पुष ९ गते पोखरा महानगर भित्रको १९ किमि र्यालीमा १ हजार ५ सय भन्दा वढिको सहभागिता हुने साइकल सिटीले जनाएको छ । प्रदशनी केन्द्रबाट सुरु हुने र्याली बजारको विभिन्न भाग परिक्रमा गरी पुनः प्रदर्शनी केन्द्रमा समापन हुनेछ । समापनका अवसरमा विविधि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, स्लो साइकल र जिगज्याग साइकल प्रतियोगिता समेत हुनेछ ।
सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन शहरको रुपमा घोषणा गर्न पोखरा महानगरले तयारी सुरु गरेको बताए । उनले भने–“हामीले तयारी सुरु गरिसकेका छौं । यदि संघिय सरकारबाट भएन भने पनि प्रदेशसरकार र पोखरा महानगरले एक भव्य समारोहका विच घोषणा हुनेछ ।” पोखरा पर्यटकको रोजाईले मात्रै नभई खेलकुद, शिक्षा, स्वास्थ्य लगायत अन्य कारणले समेत हव बन्दै गइरहेको बताउँदै प्रमुख आचार्यले पर्यटन राजधानी घोषणा गरेर पोखरालाई आर्थिक अवस्थालाई चलायमान बनाउने पोखरा महानगरको योजना समेत रहेको बताए ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक बास्तोलाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा कार्यक्रममा संयोजक राजन गोगंजु, साइकल सिटीका प्रकाश बज्रचार्यलगायतले ‘छैटौं टुर दि पोखरा’को विविधि पक्षबारे जानकारी दिएका थिए । छैटौं टुर दि पोखरा २०२२ सम्पन्न गर्न करिव २५ लाख खर्च हुने संयोजक राजन गोगंजुले जनाएका छन् । छैटौं टुर दि पोखरालाई पोखरा महानगरले ५ लाख सहयोग गर्ने प्रमुख आचार्यले जानकारी दिंदै महानगर संग भगिनी सम्वन्ध रहेका शहरहरुलाई समेत सहभागिताका लागि पत्राचार गरिएको बताए ।
साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित रहेको थियो । साइकल सिटी पोखराले पोखरामा साइकलको प्रवर्द्धन संगै विभिन्न सामाजिक कृयाकलाप समेत आयोजना गर्दै आएको छ ।
