वाईवाई यु–१९ क्रिकेट : गण्डकी प्रदेशस्तरिय छनोट सुरु, नवलपुरको विजयी शुरुवात

पोखरा स्पोर्टस । पोखरामा वाईवाई यु–१९ गण्डकी छनोट क्रिकेट सुरु भए संगै नवलपुरले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको हो ।

टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगेपनि जित निकाल्न सकेन । कास्कीले पुरा ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रन मात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलरहरु रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए ।

यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ्गले ब्याटिङ तथा प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे । साथै टिमले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीको शान उँचो पार्न पनि उनले शुभ–कामना प्रदान गरे ।

प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औल्याए । आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले राष्ट्रिय टिममा आफ्नों स्थान बनाउने खुड्किलो यहि प्रतियोगिता भएकाले खेलाडीहरुले अनुशासित पूर्वक आफ्नाें खेल कौशल देखाउन आग्रह गरे । उद्घाटन कार्यक्रममा राष्ट्रिय क्रिकेट अम्पायर भोजराज बराल, प्रदेश क्रिकेट संघका सदस्य अर्जुन थापा, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close