
पोखरा स्पोर्टस । फुटबल विकास र सामाजिक कृयाकलापमा कृयाशिल सहारा क्लव पोखराले देउसी–भैलो २०७९ बाट नगद ७ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ ।

तिहार अबसरमा सहारा क्लब पोखराले देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन गरेको जनाएको हो । विगत दुई वर्ष कोरोनाका कारण संचालन हुन नसकेको देउसी भैलो कार्यक्रम यसपटक चार दिनसम्म खेलिएको क्लवले जनाएको छ ।
‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने मूलनाराका साथ संचालित कार्यक्रमबाट बचत रकम क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जनाएका छन् ।
क्लबले २० वर्षदेखि बर्षेनि आहा रारा फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ भने क्लवद्वारा सञ्चालित दोबिल्लास्थित एकेडेमीमा कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाएका छन् ।
क्लबले देउसी भैलो कार्यक्रममा सहयोग पु¥याउने सम्पूर्णमा आभार व्यक्त गरेको छ । क्लबले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, मानार्थ सदस्यहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, कलाकारहरु, नृत्य निर्देशक, दानवीर लगायतमा आभार व्यक्त गरेको हो ।
कार्यक्रम संयोजकमा क्लबका कार्यसमिति सदस्य रोजिना गुरुङ र सहसंयोजक क्लबका सहकोषाध्यक्ष विनु राना थिए ।
