प्याराग्लाइडिङ : अभ्यास म्याच नै आधिकारिक, गोल्ड मेडलिस्ट : स्व. निसिम थापा

पोखरा स्पोर्टस /तस्विरः सुदर्शन रञ्जित । पोखरा रंगशालाभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उभिइरहेको कस्तुरी मृगको मस्कट । प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो ।

घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो । तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ । उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन । नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत जिते ।

पोखरा रंगशालामा निसिमको अर्धशालिक राखिने
नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए । “मैले यो प्रस्ताव बैठकमा लगेको थिए । हामीले एक होनहार यूवा खेलाडी गुमाउन पुग्यौं । यो प्रस्ताव पास भएको छ,” सदस्य गुरुङले भने ।

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय ग¥यो । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप गोल्ड मेडल दियो र २५ हजार नगद पनि दियो । उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ । बिमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

निसिम थापा छैनन । तर, खेलाडी, खेल र खेलप्रेमीले उनलाई बिर्सने छैनन । उनै २९ वर्षीय थापा पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्व. गोल्ड मेडलिष्ट बन्न पुगेका छन । पुरस्कार थाप्न थापा त्यहाँ थिएनन । उनका काका भेनिस थापाले निसिमको पदक लिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगीन तस्बिर सहित लेख्यो, “उई विल मिस यु ….।” मन्त्री सहित राखेपको पदाधिकारीको समूह उनका परिवारलाई भेटेको छ  ।

प्याराग्लाइडिङः आर्मी र गण्डकीलाई ३/३ स्वर्ण
नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतका अनुसार असोज २८ गते गरिएको तयारी उडानको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।

संघका अनुसार टिम तथा एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३/३ स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशिल गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ ।

विभागीय टिम नेपाल आर्मी क्लबले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कुल २५५५.९ अंसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

त्यस्तै, बागमती प्रदेश क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण
क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् । सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन् । उनले कुल ९४८.६ अंक हात पारेका थिए । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव राउतले जानकारी दिए ।

एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण
प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन् ।

त्यस्तै, विभागीय टिम एपीएफले रजत पदक अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कुल ४० अंक प्राप्त गरेका थिए ।

सोही स्पर्धामा प्रदेश १ ले कांस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो
अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिना कांस्य पदक जितेका हुन् । व्यक्तिगत एक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान ३/३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ ।

टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन
महिला टिम एक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् ।

रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए । त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राई ले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ ।

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज
महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका मुनामाया जिटी २० अंकसहित स्वर्ण पदक, दुर्गामाया गुरुङ २१ अंकसहित रजत, स्वस्तिका गुरुङ कांस्य ५४ अंक प्राप्त गरेका थिए ।

क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उडानका क्रममा दुर्घटनापश्चात दुर्घटना भएपछि नेपाल हवाइ खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ ।

‘इन्टरनेशनल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ महासचिव राउतले भने, ‘हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौं ।’

यसै विच खेलको दौरान दुर्घटनामा निधन भएका नेपाल आर्मीका निसिमलाई मानार्थ स्वर्ण पदक दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close