
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बर्चस्व कायम गरेको छ ।

प्रतियोगिता अन्तर्गत भएका बिभिन्न ६ इभेन्टका १८ पदक मध्ये त्रिभुवन आर्मी क्बले ५ स्वर्ण, २ रजत तथा २ कास्य पदक जितेर प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको हो । प्रतियोगिताको महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी स्वर्ण पदक जितिन् । प्रतियोगिता अन्तर्गत महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सिन्दिरा जोशीले रजत पदक र प्रदेश नम्बर १ खुस्वु थापाले कास्य पदक हात पारिन् ।
प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालले स्वर्ण पदक जित्दा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले रजत पदक तथा त्रिभुवन आर्मी क्बलका सचिन महर्जनले कास्य पदक जिते । प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा पनि त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले नै स्वर्ण जित्न सफल भइन् । त्यस्तै नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले रजत पदक र त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले कास्य पदक हात पार्न सफल सफल भएका छन् ।
बुधबार सम्पन्न भएको महिला र्यापिड चरणको खेलमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले यो चरणको प्रतियोगिताको तेस्रो स्वर्ण पदक हात पार्न सफल भइन् । त्यस्तै प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले रजत पदक र गण्डकी प्रदेशकी पुजा भण्डारीले कास्य पदक जितेकी छन् । खुल्ला र्यापिड चरणमा त्रिभुवन आर्मीका रुपेश जैसवालले स्वर्ण, त्रिभुवन आर्मी क्लबकै मिलन लामाले रजत र नेपाल पुलिस क्लबका सुबिर लामाले कास्य पदक जिते ।
प्रतियोगितामा प्रदेश नम्बर १ ले एक रजत र एक कास्य पदक, नेपाल पुलिस क्लबले २ कास्य र १ रजत पदक, गण्डकी प्रदेशले एक रजत पदक हात पार्न सफल भएको छ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत खुल्ला क्लासिकल चरणको नतिजा भने घोषणा हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गैह्र आवासिय संघ (एनआरएनए) का खेलाडी आशिष फुयाँलले स्वर्ण पदक जितेको भएपनि प्रदेश नम्बर १ ले एनआरएनले गैह्र खेलाडीबाट खेल खेलाएको भन्दै उजुरी हालेपछि छानविन नसकिदासम्मका लागि खेलको नतिजा घोषणा स्थगित गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिकी सदस्य मोनालिसा खम्बोले जानकारी दिए ।
