प्याराग्लाइडिङ खेल अन्योलमा, बुधबार क्यान संग वार्ता

प्याराग्लाइडिङ बन्दमा जोडियो हवाई सुरक्षा प्रतिवेदन

पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ वटा स्वर्णपदक होल्ड गर्ने प्याराग्लाइडिङ खेल गत शनिबारको दुर्घटनापश्चात अनिर्णित बनेको छ । दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।

क्यानको यो निर्णयप्रति राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङदेखि प्याराग्लाइडिङ सम्बद्ध नीजि व्यवसायीहरुले क्यानको निर्णयप्रति असन्तुष्टि जनाएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको क्यान र युवा तथा खेलकुद मन्त्रालय मातहतको राखेपबिच असमञ्जसको स्थिती पैदा हुँदा यो खेलबारे अब के हुन्छ भन्ने निर्णयमा दुई विभागीय मन्त्रालय आमनेसामने भएका छन । मंगलबार पनि प्याराग्लाइडिङ खेलको बारेमा कुनै थप निर्णय हुन सकेन ।

यही अनिश्चयका बिच प्याराग्लाइडिङ खेलमा अब नेपाली आकाशको हवाई सुरक्षा प्रतिवेदन पनि जोडिन पुगेको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे गत असोज २१ देखि २३ गतेसम्म अडिट गरेको थियो ।

तीन सदस्यिय टोलीले गरेको उक्त अडिट कात्तिक ११ गते नेपाललाई बुझाउने कार्यक्रम छ । उक्त प्रतिवेदन पश्चात नागरिक उड्डयन प्राधिकरणले जवाफ दिनेछ । इयुले नेपाली आकाशलाई विगत १० वर्षदेखि ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउने गरेका छन ।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । इयुले नेपाली आकाशलाई उड्डयन सुरक्षा सूचीबाट हटाउन यो प्रतिवेदन महत्वपूर्ण रहेको क्यानका पदाधिकारीले बताउँदै आएका छन । अडिट भएको र प्रतिवेदन आइनसकेको अवस्थामा गत सोमबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल आर्मीका खेलाडी निसिम थापाको ज्यान गएको थियो ।

अर्कातर्फ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको र उडान सुरु भएपछि सराङकोटबाट उडान भर्ने प्याराग्लाइडिङ व्यवसायलाई जनवरी १ भित्रै विकल्प खोज्न भनेर क्यानले यसअघि नै पत्राचार गरिसकेको छ । प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामि जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने लक्ष्य पनि राखेको छ ।

नेपाली आकाश सुरक्षासूचीबाट हट्ने, पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने र उडानमा बाधक देखिएको प्याराग्लाइडिङलाई विकल्प खोज्न भनेर मिति तोकिदिँदा शनिबारको घटनापश्चात प्याराग्लाइडिङ अकस्मात बन्द गर्ने क्यानको निर्णय पनि हवाई सुरक्षाको प्रतिवेदनसँग जोडिने एक पदाधिकारी बताउँछन ।

प्याराग्लाइडिङ प्रतियोगिता नै अन्योलमा परेपछि यसकै बारेमा छलफल गर्न भनेर नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउत तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी काठमाण्डौ पुगेका छन । उनीहरुले क्यानका महानिर्देशन प्रदिप अधिकारीसँग छलफल गर्ने र प्रतियोगिता तथा समग्र प्याराग्लाइडिङको बारेमा विकल्प छलफलको माध्यमबाट खोजिने बताएका छन । महासचिव राउत भन्छन, “भोलिक ११ बजे महानिर्देशकसहित बैठक बस्नेछौँ । सबैको जीत हुनेगरि निकास निस्किनेमा आशावादी छौँ ।” उनका अनुसार एकदुई दिनभित्रै प्याराग्लाइडिङ उडानको सम्भावना भने छैन ।

क्यानका पदाधिकारीले नेपाली आकाशको हवाई सुरक्षाबारेमा अडिट गरेका हुँदा थप दुर्घटना हुन नदिउँ भन्ने मनसाय व्यक्त गरेको उनले बताए । “उहाँहरुको कुरा बुझ्दा इयुको टोलीले भर्खरै अडिट गरेको रहेछ । नेपालको हवाई सुरक्षालाई ब्ल्याक लिस्टबाट हटाउने कुरा भएको छ । थप दुर्घटना क्षति हुन नदिउँ । तपाइहरु विचार गर्नुहोस, हामीले पनि गर्छौँ भन्नुभएको छ ।” राउतले भने, “एक दुइवटा मापदण्ड अपनाउने र सुरक्षाका विषयमा छलफल हुन्छ ।” क्यानले जतिसक्दो सेफ्टी मेजर अपनाउन जोड दिएको उनले बताए ।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले नियामक निकाय नै क्यान रहेको हुँदा महानिर्देशकलाई भेट्ने र निकास खोजिने बताए । “क्यान नियामक निकाय हो । क्यानले गाँठो फुकाउला । भएन भने अब मन्त्रीज्यूसँग नै जाने होला ।” उनले भने ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला चाहिँ प्याराग्लाइडिङ रोकिनुमा हवाई सुरक्षाको प्रतिवेदन जोडिएको स्विकार गर्दैनन । “इयु, आइकाओलाई फरक पार्दैन, पोखरामा विमानस्थल सञ्चालन गर्दा चाहिँ डिस्टर्ब हुन्छ भनेर सार्ने भनिएको छ । तर, सोमबारको दुर्घटनाको कारणले चाहिँ होइन ।” उनले भने, “यसमा केही कमजोरीहरु छन कि भनेर अध्ययन गर्नको लागि हो ।” बुधबार महानिर्देशकसँग हुने छलफलपश्चात थप निर्णय हुने उनले जानकारी दिए ।

सहासिक खेल र व्यवसाय जोडिएको नेपालको प्याराग्लाइडिङ बन्द हुँदा अर्थतन्त्रमा सकेत असर पर्ने संगै सैयौंको व्यवसाय र रोजगार समेत धरापमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close