
पोखरा स्पोर्टस । नेपालकै सबैभन्दा बलियो महिला मानिने तारादेवी पुन जहाँ खेल्छिन्, कुनै न कुनै पदक जितेकै हुन्छिन् ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा पनि उनले मंगलबार आफ्नो पक्षमा स्वर्ण हात पारिन् । नेपाल पुलिसकी तारादेवीले मंगलबार ८१ केजी तौल समूहको स्वर्ण जितेकी हुन् ।
विभिन्न कीर्तिमानीसहित राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार ६ स्वर्ण जित्ने उनी एकमात्र खेलाडी हुन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गरेकी हुन् ।
मात्र ४ खेलाडी सहभागी सो स्पर्धामा एपिएफकी अञ्जली श्रेष्ठले रजत जितिन् भने सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । अञ्जलीले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२१ केजी तथा चम्फाले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार बहन गरेका थिए ।
तारामायाको जन्म गण्डकी प्रदेशकै म्यादी जिल्लामा भएको हो । उनी साविक हिस्ता गाविस वडा नं. ३ को हाल परिवर्तित अन्नपूर्ण गाउँपालिका वडा न. ६ निवासी हुन् । ४१ वर्षीया तारादेवी विगत १९ वर्षदेखि भारत्तोलन खेल्दै छिन् ।
नेपालकै सबैभन्दा बलियो महिला (स्ट्रोङ्गेस्ट वुमन)को टाइटल लामो समयदेखि उनकै हातमा छ । विगतमा भलिबल खेलेकी तारादेवी पुन नेपाल पुलिसमा आबद्ध रहेकी छिन् ।
भलिबलदेखि भारोत्तोलन खेलमा आउन उनलाई तेक्वान्दोकी ओलम्पियन प्रवीणा थापाले सुझाव दिएकी उनले स्मरण गरिन् । उनैलाई ताराले प्रेरणाको स्रोत मान्छिन् ।
उनले पोखरामै भएको १३ औं सागमा कास्य पदक जितेकी थिइन् । साथै, १२ औं संस्करणको सागमा पनि कास्यमै सीमित भएकी थिइन् । नेपालमा खेल खेलाडीको लागि राष्ट्रले सहयोग गरेकोमा उनी सन्तुष्टी व्यक्त गर्छिन् ।