
पोखरा स्पोर्टस । प्रदेशको नेतृत्व गर्दै कुनैपनि खेलमा सहभागी हुदा त्यस प्रदेश भित्र पर्ने विभिन्न जिल्लाहरुबाट खेलाडीहरु समावेश गराईन्छ, सामान्यतया हामी त्यसरी बुझ्दछौं र अहिलेसम्म त्यहि भैरहेको पनि छ ।
तर तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, एउटै परिवार मिलेर बनेको जम्वो एक टिमको खेलाडीले प्रदेशको नेतृत्व गर्दै मैदान उत्रिएको सुन्दा । पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस्तै एक टिमले सहभागिता जनाएका छन् । रामजन रावतको कप्तानीमा कर्णाली प्रदेशको नेतृत्व गर्दै हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ५ का मात्रै उक्त खेलाडीको टिमले पुरुष हक्की खेलको लागि अहिले प्रदेशलाई पदक दिलाउने कठिन कसरत गर्दै मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।
टिममा एकै परिवारका दाजुभाई,सालोभेना, फुपाजु,अंकल, भतिजो लगाएतको आफन्त विचको खेलाडी टिम पोखरामा आएको क्याप्टेन रामजन रावतले बताए ।
भौगलिक विकटता,व्यक्तिको खेलप्रतिको इच्छा शक्ति,आर्थिक अभाव लगाएतका कारणले खेलाडीलाई एकता र विस्तार गर्न कठिन भएकोले एउटै परिवार र नातागोताको टिम बनेको उनले बताए ।
नेपाल हक्की संघ हुम्लाका अध्यक्ष समेत रहेका टिम क्याप्टेन रावले भने,“एउटा गाउँबाट अर्का गाउँ पुग्न करिव आधा दिन लाग्छ,प्रदेशको पुरै जिल्लामा हक्की खेल विकास गर्न त झन हामीलाई एकदम कठिन छ,त्यसैले यो खेल पनि एउटै परिवार र टोलछिमेकमा मात्रै सिमित भयो,त्यहि टिम यहाँ आएका हौ ।”
टिमका १८ जना खेलाडी मध्ये जीवन रावत र उज्वल रावत एकै परिवारका दाजुभाई हुन् भने केशर रावत र निराजन रावत अर्काे परिवारका दाजुभाई हुन् बाँकी काका भतिज,पुसाई भदै,मामा भान्जा र भेनासालो लगाएतको आफन्त समावेश छन् ।
उनै केशर रावतले शनिबार भएको लुम्विनी प्रदेशसंगको खेलमा एक गोल गरेपछि टिमले ऐतिहासिक एक खेल जितेको छ ।
यो खेललाई नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन उक्त टिमले निकै संघर्ष गरेको भन्दै पर्याप्त तयारी विना पनि यो पटक एक खेल जित्नु नै हुम्लाबासीको लागि सुखद सन्देश र खेलाडीको हौसला हुने क्याप्टेन राउतले बताए ।
“हुम्लामा मात्रै होईन कर्णाली प्रदेशमै हक्की खेलका लागि उपयुक्त भौतिक पुर्वाधार छैन । कहिले खेतको गरामा, कहिले स्कुलको खेल मैदानमा त कहिले चौरमा,कहिले अलिक फराकिलो घरको आँगनमा खेलाडीहरुले प्रशिक्षण गरिरहेका छौ,”उनले भने,“हामीसंग खेल सामाग्रीहरुको अभावका छ खेल कोँच पनि छैन ।”
नवौ राष्ट्रिय खेलमा छनौट भएपछि केन्द्रमा कोँचको माग गरिएको थियो । एक महिनाको लागि कोँच त पाइयो तर विडम्वना सोही तालिमको अवधिभर सिमकोटमा लगातार बर्षाका कारण सोचेअनुसार तयारी नभएको उनले बताए ।
एक खेल जितेपछि खुसि भएर अर्काे खेलको तयारीमा रहेको टिम कर्णालीका खेलाडीले खेल सामाग्रीको अभाव रहेको गुनासो गरे ।
“हामीसंग खेलाडीले लगाउने जर्सी,जुट्टा,सिङगार्ड र गोलकिपर किट छैन”, खेलाडी सुशान्त रावतले भने,“हाम्रो खेलको समयमा नेपाल आर्मी र अन्य खेलाडीहरुसंग मागेर काम चलाईरहेका छौ ।”
खेल क्षेत्रको विकास र खेलाडीहरुको आत्मसम्मानका लागि राज्यले चासो नदेखाएको खेलाडीहरुको चौतर्फी गुनासो छ,”उनले भने,“सिमकोट जस्तो दुर्गम स्थानको हक्की खेललाई राज्यले के आँखा लगाउथ्यो र ? अहिलेसम्म हामीलाई राज्यका तिनै तहको सरकारको साथ छैन । हामी नित्तान्त व्यक्तिगत खर्चमा चलेका छौ ।”
सम्वन्धित निकायमा खेलकुद राजनैतिक गुटबन्दीले गर्दा हक्की खेल विकास नपाएको अर्का खेलाडी रोशन रोकायाले बताए । “बजेट छैन,हुम्लामा हक्की खेल र खेलाडीको अवस्था दयनिय छ,”उनले भने, “खेल क्षेत्रको विकास गर्ने सम्विन्धित निकाय राजनैतिक गुटबन्दीमा लाग्दा समस्या भएको हो ।”
सवै खेललाई समान विकास गर्न समान बजेट विनियोजन हुनुपर्ने भन्दै राज्य पक्षबाट नै पहल नभएसम्म आफुहरुको प्रयासले केहि नहुने अर्का खेलाडी सन्तोष रावलले बताए । “हुम्लाको चिसोले हामीले प्रयोग गरेको बल प्वाक्क प्वाक्क फुटिरहन्छ । स्टिकहरु भाँचिन्छन ”,उनले भने, “किन्नको लागि पैसा राज्यबाट पाएका छैनौ आफ्नै खर्चमा चलेका छौ ।”
सिमकोटमा हक्की खेलको सुरुवात
२०५१ सालमा टिम क्याप्टेन तथा हुम्ला हक्की संघका अध्यक्ष समेत रहेका रावत सहित गाँउका ६ जना ६÷७ वर्षको उमेरमा विरगञ्ज स्थित बालगृहमा गए । पढाईको सिलसिलामा कहिले नेपालगञ्ज त कहिले काठमाडौमा बसेका रावत हक्की खेल तर्फ लाग्नुमा आफ्ना गुरु राजेन्द्र पाठकबाट प्रेरणा मिलेको बताउछन् ।
“पढाईको सिलसिलामा हक्की खेल तर्फ आकर्षित भईयो । उनै गुरुले हामीलाई सिकाउनु भएको हो,”उनले भने । आफ्नो पढाई पुरा भएपछि हक्की खेल सुरुवात गर्ने अठोट लिएर जन्मस्थल फर्किएको उनले बताए ।
“बालगृहमा पढाई त पुरा गरियो । अव हामी गाँउ गएर के लिएर जाने त ? भन्ने प्रश्न मनमा आयो,”उनले भने, “अन्तमा हामीले सिकेको सिप हक्की खेललाई नै गाउँमा स्थापित गर्ने लागिप¥यौ ।”
गाउँ फर्केपछि बालगृहबाट गाउँ फर्केका रावत लगाएतको समुहले २०७२ सालमा रावतको अध्यक्षतामा हुम्ला जिल्ला हक्की संघ गठन ग¥यो । त्यसपछि गाउँका अरु युवाहरुलाई पनि प्रशिक्षण दिन सुरु गरियो ।
अहिले करिव २५/२६ जना खेलाडी भैसकेका छन् । भौगलिक विकटताका कारण उक्त संघले अहिलेसम्म कर्णालीको अरु प्रदेशमा विस्तार गर्न नसकेको रावतले बताए । हक्की खेल अहिलेसम्म सदरमुकाम सिमकोटमा मात्रै केन्द्रित छ । तर, संघले उत्पादन गरेको खेलाडी सुरज वोहोरा नेपाल पुलिसमा आवद्ध छन् भने एक जना खेलाडीले विदेशमा तालिम प्राप्त गर्ने अवसर पाएको थिए ।
नित्तान्त सिमित खेलाडीको प्रयासले मात्रै सञ्चालन गएिको संघबाट उत्पादित खेलाडीले यस्तो मौका पाउनु नै खुसिको कुरा भएको संघका अध्यक्ष तथा टिम क्याप्टेन रावतले बताए ।
“हामीलाई सरकारमा सहयोग छैन । प्रदेश खेलकुद परिषदले पनि विभेद गरेको छ । खेलाडीहरु आफ्नै खर्चमा चलेका छन् । कहिले चन्दा त कहिले चिनेको संघसंस्था गुहार्नुपर्छ”,रावतले भने,“हाम्रो प्रयासले मात्रै यत्तिको अवस्थामा आएका छौ ।”
नेपालको एक मात्र उच्च स्थान सिमकोटमा हक्की खेल खेलाईएको दावी गर्दै अध्यक्ष रावतले राज्यको पहल विना यसको विकास र विस्तार नहुने बताए ।
उनका अनुसार अहिले पनि संस्था दर्ता तथा सञ्चालन भैरहदा करिव ६ लाखको हारहारिमा खर्च भैसकेको छ । “पर्याप्त आर्थिक सुविधाले खेलाडीहरुले अन्य प्रतियोगितामा सहभागिता जनाउने अवस्था नै छैन,”उनले भने ।
अव सरकारले नै बजेट विनियोजन गरेर खेल कोँच, भौतिक पुर्वाधारहरुको विकास,खेल सामाग्री उपलब्धता लगाएतको व्यवस्था गरेमा १० औ प्रतियोगितामा यो टिम अझै शसक्त हुने र महिला टिम पनि उत्पादन गरेर प्रतियोगितामा सहभागि गराउने अध्यक्ष रावतले प्रतिवद्धता व्यक्त गरे ।
सडक सञ्जालसंगले नजोडेको नेपालको एकमात्रै सदरमुकाम हो सिमकोट । सिमकोटबासीका लागि यातायातको पहुँचसम्म आईपुग्न हिडेर ३ दिन लाग्ने गर्दछ भने हवाई मार्फत नेपालगञ्जसम्म मात्रै करिव १३–१४ हजार भाडा लाग्छ । जसले गर्दा त्यहाँका जनताको दैनिकी नै बाध्यत्मक रुपमा खर्चिलो छ ।
अभावका बावजुत सदरमुकाम सिमकोटमा हक्कीको साँख जोगाउदै आएका खेडाडीहरुले अहिले हक्की खेल जारी पोखराको हेम्जा स्थित गौरीशंकर खेलमैदानको ग्राउण्ड आफुहरुका लागि अत्यन्त्यै सुविधायुक्त भएको खेलाडीहरुको भनाई छ ।
कर्णालीको प्रतिनिधित्व गर्दै पोखराको जस्तो ठाँउको खेल मैदानमा खेल्ने अवसर पाउनु नै सम्पुर्ण हुम्लाबासीको लागि सौभाग्यको कुरा रहेको टिमका क्याप्टेन रावत बताए ।
यस अगाडी ८ औ राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाएको यो टिमले ७ औ मा भने मध्यपश्चिमाञ्चलबाट ५ जना खेलाडीको सहभागिता रहेको थियो । त्यसैगरि पोखरामा आयोजना भएको हक्की प्रतियोगितामा पनि सहभागिता जनाएको थियो । भारतमा हक्की खेल प्रख्यात छ । सिमकोट कैलाश मानसरोवरको द्धारको रुपमा मानिन्छ । जहाँ भारतिय पर्यटकहरुको चहलपहल हुने गर्दछ । सरकारले वेवास्ता गरेपनि हक्कीलाई तिनै पर्यटकलाई आकर्षण गर्न पनि त्यहाँ हक्की खेल जिवित राखिएको खेलाडीहरुले बताए ।
खेलेरै जीवन गुजारा गर्न सरकारबाट खेलाडीहरुलाई सेवा सुविधा उपलव्धता छैन । “बाध्यताले राम्रो खेलाडी पनि खाडीमा पुग्नैपर्ने परिपाटी छ । हामी पनि कोहि व्यवसाय,कोहि विद्यार्थी,कोहि अन्य क्षेत्रमै आवद्ध भएका छौ,” टिमका खेलाडी जीवन रावतले भने ।
यता नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले भने हक्की खेलको अवस्था कर्णालीमा मात्रै नभई नेपाल भरिको अवस्था दयनिय रहेको बताए । २०१० सालमा नेपालमा हक्की खेल स्थापना भएपनि अहिले सम्मको खेलको अवस्था यस्तो हुनुमा नेपालको भौगलिक अवस्था र सरकारको वेवास्ता मुख्य कारण रहेको उनले बताए ।
कर्णाली प्रदेशको खेल विकासका लागि केन्द्रमा पटक पटक छलफल जारी रहेको उपाध्यक्ष खड्काले बताए । कर्णाली आफैमा भौगलिक विकट क्षेत्र हो ।
“त्यहाँको खेल विकासलाई प्राथमिकता दिएर हामीले केन्द्रमा पटक पटक छलफल गरिरहेका छौ,” उनले भने,“यो नवौ खेल सकिनासाथ त्यस स्थानमा हक्कीलाई के कसरी व्यवस्थित गर्न सकिन्छ हामी पुनः छलफलमा जुट्ने योजनामा छौ ।”
हक्की खेल अहिले नेपालको तराई क्षेत्र झापा, जनकपुर,विरगञ्ज, हेटौडामा,पर्सा,नेपालगञ्ज,कञ्चनपुर लगाएतको स्थानमा खेलिन्छ भने पहाड क्षेत्रमा पोखरा र कर्णालीमा खेलिन्छ ।
“हक्की विषेश गरि भारतमा प्रचलित खेल भएकोले तराई क्षेत्रमा त्यसको प्रभाव छ”,उनले भने, “पोखरामा भारती भुपु सेनाहरु र सिमकोटमा भारतमा ज्याला मजदुरी गर्न पुगेका व्यक्तिहरुको प्रभावले यो खेल सञ्चालित छन् ।”
पछिल्लो वर्ल्ढ र्याङकमा नेपालको हक्की खेल ८७ औ स्थानमा रहेकोले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन अवसर मिले पनि नेपालमा सोच अनुसारको खेलाडी उत्पादन गर्न नसकिएको उनले गुनासो गरे ।
विद्यालय क्षेत्रबाट नै यसको विकासका गर्नको लागि विभिन्न विद्यालयमा खेल सामाग्री वितरण गर्ने गरिएको छ ।
२०५१ साल देखि नै केन्द्रिय संघमा एउटै व्यक्ति नेतृत्व रहेको यो खेल महंगोे र चुनौतिपुर्ण भएकोले यस खेल प्रति व्यक्तिको चाहना नहुनाले पनि यसको प्रगति नभएको उनको भनाई छ ।