
पोखरा स्पोर्टस । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)को दुत नियुक्त भएका छन् ।
एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । नियुक्ति भए संगै अब नेपालमा आयोजना हुने एम्स अन्तर्गतका म्याराथनहरुको समन्वय ठकुरीले गर्नेछन् ।
यसका साथै एम्सको दुतका रुपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्ने, एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्ने, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ तथा एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस आयोजकहरुलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रवर्द्धन गर्ने जिम्मेवारी दिइएको छ ।
अध्यक्ष बाराओले पत्रमा भनेका छन्–‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ उनको पत्रमा भनिएको छ–‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिङ्गको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।‘
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पुर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपालसम्बन्धि जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिन समेत प्रकाशन गर्दै आएका छन् ।
एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गर्दै उनले सिंगो नेपालगन्जवासी प्रति आभार प्रकट गरेका छन् । ठकुरी विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स) का समेत दुत हुन् ।
एम्स संसारभर एक सय बीस देशमा झण्डै साढे चार सय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो । एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वर्ल्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं वर्ल्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेश गर्दा ६५ मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वर्ल्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।
