ओलम्पिक टर्च लुम्बिनी पुर्‍याइने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च बुधबार लुम्बिनी पुर्‍याइने भएको छ ।

उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याउने छ । ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गर्दै विदाई गरे । सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो ।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार बिहान लुम्बिनीको शान्तिदिप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।

सोही टर्च पोखरामा अर्को ५ सदस्यीय गण्डकीका टिकाबहादुर बोगटीसहित ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ । उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराए गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदकविजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close