
पोखरा स्पोर्टस/केशव पाठक । पोखराकी मनिषा अधिकारी अहिले खेलकुदमा धेरैले विर्सेको नाम । एथलेटिक्समा कुनै बेला नेपालको प्रतिनिधित्व गर्दै युथ ओलम्पिकमा सहभागि थिइन । अहिले ठ्याक्कै १२ वर्ष भयो फेरि मैदानमा उस्तै जोश र जाँङ्गरका साथ मैदानमा देखा परेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा ।
एक छोराकी आमा मनिषा । छोरा नै ७ वर्षको । ३१ वर्षकी भइन् उनी । सन २०१० सिङ्गापुरको यूथ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनी ४०० मिटर दौडमा मैदानमा उत्रिएकी थिइन । त्यती बेला १८ वर्षकी थिइन् । तर उनको दृढ इच्छाले पुनः नवौं राष्ट्रिय खेलकुदको तयारीमा मात्रै जुटेकी छैनन भर्खरै सम्पन्न प्रदेश स्तरिय खेलकुदको रिले दौडमा स्वर्ण पदक जित्दै आफु भित्रको खेलको हुट्हुटीलाई जगाइन् । “अहिले त पहिला भन्दा धेरै फरक छ । त्यो बेला खेल्दा एथलेटिक्स सिन्थेटिक ट्रयाक थिएन । अहिले जस्तो सुविधा त्यती बेला कहाँ पाउनु ?” उनले प्रतिप्रश्न गरिन ।
मैदानमा उत्रिनु उनको रहर मात्रै नभएर गण्डकी प्रदेशका लागि पदक दिलाउन सक्छु भन्ने अठोट पनि मनिषा भित्र उत्तिकै छ । “१२ वर्ष भयो खेल्न छोडेको । खेल छोडे लगतै अध्ययन पनि सकाए । विवाह पनि भयो । अहिले ७ वर्षको छोरा छ । अहिले फेरी मैदानमा फर्किन मन लाग्यो । वहिनीहरु संग मिलेर ४०० मिटर रिले दौडिए अनि स्वर्ण पदक पनि प्राप्त गरे”, उनले भनिन । अब त प्रशिक्षक भएर अघि बढ्ने बेलामा किन त भन्ने प्रश्नमा उनी भन्छिन–“अहिले खेलकुदमा धेरै राम्रा यूवाहरु पलायन भएका छन् । उनीहरुलाई प्रेरणा दिन पनि मैदान आएकी हुँ”, उनले थपिन–“खेलकुद गफ गर्ने थलो मात्रै होइन, खेलकुद भविष्य पनि हो भन्ने कुरालाई स्थापित गर्न चाहन्छु ।”
कुनै बेला १३–१४ वर्षको उमेरमा नै स्व.एभन रञ्जित संग एथलेटिक्सको प्रशिक्षण लिएकी मनिषा यति बेला भने एथलेटिक्सका विज्ञ समेत रहेका शुसिलनर सिंह राणा, अग्रज प्रशिक्षक गज बहादुर गुरुङ संग पोखरा रंगशालामा दैनिक प्रशिक्षणमा व्यस्त छिन् । उनले भनिन–“यो मेरो लागि शुखद अवसर हो । मैले अग्रजहरु संग प्रशिक्षण लिइरहेको छु । उहाँले देखाउनु भएको मार्गदर्शनले पक्कै पनि गण्डकीका लागि पदक दिलाउन सक्छु भन्ने आशमा छु । तर धेरै मेहनत गर्नुपर्नेछ । म त्यसका लागि तयार भए नै मैदानमा आएकी हुँ ।”
अहिलेका खेलाडीमा अनुशासन नभएको देख्दा उनी चिन्ता व्यक्त गर्छिन । अनुशासन विनाको खेल कल्पना समेत गर्न नसकिने उनको भनाई छ । पोखरा लेखनाथ सिशुवा घर भएकी उनी दैनिक विहान बेलुका रंगशाला छिर्नु उनको दैनिकी मात्रै भएको छैन प्रशिक्षणमा रहेका खेलाडीहरुलाई पनि आफूले सिकेको शिप बाँडेकी पनि छन् । जुनिएरतर्फका राष्ट्रिय प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैन्थ्यो । तर सिनियरमा खेल्दा आफ्नो खेल भने जस्तो हुन नसकेको उनको दुखेसो छ । पाँचौ र छैटौं राष्ट्रिय प्रतियोगिता खेली सकेकी मनिषा पदक विहिन हुन नपरे पनि स्वर्ण भने जित्न नसकेको बताइन् ।
आफ्नै घर आङ्गनमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्ना लागि अन्तिम राष्ट्रिय खेल हुने मनिषाले बताइन् । उनले भनिन–“आफ्नै घर आङ्गनमा हुन लागेको यति ठूलो वुहत् प्रतियोगितामा चुप्प लागेर बस्न मनले मानेन त्यही भएर पनि मैदान छिरेकी छु । यो नै मेरो जिवनको अन्तिम प्रतिष्पर्धा हुने छ ।” उनले खेलको प्रतियोगितात्मक प्रतिष्र्धा त्यागे पनि आफ्नो जिवन खेलका लागि संघै समर्पित हुने बताइन । उनले आफू जस्ता धेरै खेलाडीहरुका लागि राज्यको संरक्षण र रोजगारको विशेष प्रवन्ध भएमा धेरै यूवा खेलाडीहरुलाई आकर्षित गर्न सकिने बताइन् । “अहिले खेलकुबाट पलायन हुनुको कारण पनि त्यही हो । म त फर्किएर मैदानमा आएकी छु । म जस्ता धेरैलाई मैदानमा फर्काउन राज्यको चासो जानु आवश्यक छ”, उनले भनिन ।