
केशब पाठक,
पोखरा, सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीको अक्षय कोषमा सघाउन सहारा क्लब पोखराको भातृ संस्था सहारा यूकेका अध्यक्ष कुमार गुरुङ र उपाध्यक्ष ले.रि.कुशाङ गुरुङले १० माइलको दौडमा सहभागिता जनाएका छन ।

बेलायतको पोर्टसमाउथ आयोजना भएको ‘सिम्पली हेल्थ ग्रेट साउथ रन’मा च्यारिटी मार्फत रकम संकलन गर्न दौडमा सहभागिता जनाएको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले बताए ।

सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका बालकहरुका लागि बनाइएको अक्षय कोषमा सहारा यूकेका तर्फ बाट सहयोग संकलन गर्न दौडमा सहभागिता जनाएको अध्यक्ष गुरुङले बताए । उनले भने–‘हामीले प्रत्येक वर्ष केही न केही च्यारिटी मार्फत अक्षय कोषमा रकम जम्मा गर्दै आएका छौं त्यो नै यसको निरन्तरता हो ।’ उनले च्यारिटी मार्फत करिब ५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको बताए ।

अनाथ बालबालिकाहरुको शिक्षा र खेलकुद विकासमा सहयोग गर्नु पर्दछ भन्ने उद्देश्य अनुरुप उक्त दौडमा भाग लिन लागेका बताउँदै सहारा यूकेका उपाध्यक्ष ले.रि.गुरुङले भने–‘बालबालिका भनेको भविश्यको कर्णधार हुन्, उनीहरुको शिक्षामा सहयोग गर्नु भनेको अत्यन्त पुण्यको काम पनि हो ।’ च्यारिटी मार्फत अक्षय कोष वृद्धि गर्ने र कठिन परिस्थितीका लाइ शिक्षा संगै फुटबल सिकाउदैं भविष्यका खेलाडी उत्पादन गर्नु समेत हो उपाध्यक्ष गुरुङले भने ।

१० माइलको दौड पुरा गर्दा च्यारिटी मार्फत ४ लाख ६७ हजार रुपैंया संकलन भइसकेको जानकारी दिंदै थप रकम संकलन भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । संकलित रकम सहारा पोखराले आयोजना गर्ने १८ औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटन कार्यक्रममा हस्तान्तरण गर्ने उनले बताएका छन । सहारा पोखराले सहारा एकेडेमीको संचालनका लागि २ करोडको अक्षय कोष बनाउने घोषणा बमोजिम सहारा यूकेले हरेक वर्ष च्यारिटी मार्फत रकम संकलन गर्दै आएको छ ।

करिब ४० हजार भन्दा माथी धावकहरुको सहभागिता रहेको ‘सिम्पली हेल्थ ग्रेट साउथ रन’मा अध्यक्ष कुमार गुरुङ र उपाध्यक्ष ले.रि.कुशाङ गुरुङलाई हौसला बढाउन सहाराका कार्यसमितीका सदस्य मिलन गुरुङ, सहारा एफसी चियरमेन कृष्ण गुरुङ लगाएत अन्य सदस्यहरु तथा परिवारहरु पोर्टस्माउथ पुगेका थिए ।




