
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) कास्की जिल्ला कमिटिले नेपालको परम्परागत खेल ठेलो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेकोस कास्कीले यहि साउन २८ गते शनिबार पोखरा वडा नं १ स्थित पुरानो टुँडीखेलमा उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । संघका अध्यक्ष दुर्गादत्त पोखरेलले संघले पहिलो पटक यूवाहरुलाई खेलतर्फ आर्कषण गर्ने संगै परम्परागत खेलको जर्गेना गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“धेरै भन्दा धेरै युवाहरुलाई खेलतर्फ आर्कषण गराई उनीहरुको मानसिक र क्षमता विकास गर्न यो प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौं ।”
उक्त प्रतियोगितामा पहिलो, दोेश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको अध्यक्ष पोखरेलले बताए । प्रतियोगिता सम्पन्न गर्न प्रमोद थापाको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरिएको छ । जसको सदस्यमा गोविन्द पराजुली, रविन अधिकारी, माधव बास्तोला र अरुण माझी रहेका छन् ।
