
पोखरा स्पोर्टस । ७१ औं मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यहि असार १८ गते शनिवार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिंदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँच वटा विद्यामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् ।
झापाको दमकमा हुने प्रतियोगितामा हेभीवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने छ ।
नेपालमा लामो समय देखि रिङ रेस्लिङ खेलको विकास एवम प्रवर्द्धनमा लागि परेको संघले यो प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने महासचिव श्रेष्ठको भनाई छ । “विश्वमा नै आकर्षणको रुपमा रहेको यो खेलको नेपालमा विकास संगै व्यवसायिक खेलाडी उत्पादनमा संघले भूमिका खेलेको छ”, उनले भनिन–“झापामा आयोजना हुने यो प्रतियोगिता समेत त्यसतर्फ उन्मुख छ ।” उनले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै मायाँ पाउने विश्वास व्यक्त गरिन् ।
