‘ओलम्पिक डे’मा एनओसीले इतिहासमानै पहिलो पटक अवार्ड वितरण गर्दै

पोखरा स्पोर्टस् । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बिहीबार ‘ओलम्पिक डे’ को अवसरमा एनओसी अवार्ड २०२२ वितरण गर्ने भएको छ ।

जुन २३ ‘ओलम्पिक डे’ को अवसरका उक्त कार्यक्रम हुन लागेको हो । एनओसीले नेपाली खेलकुदसँग जोडिएको नौ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रम एनओसीले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको हो । उक्त अवार्ड कार्यक्रमलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने एनओसीले जनाएको छ ।

‘“हामीले नेपाली खेलकुदसँग जोडिएका विभिन्न नौ विधामा अवार्ड प्रदान गर्नेछौं र यसका लागि सबै तयारी पूरा गरिसकेका छौं । हामीलाई विश्वास छ, यो नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुनेछ,” कमिटीका सदस्य तथा एनओसी अवार्ड समन्वयकर्ता गोपाल सुन्दरलाल कक्षपतिले बताए, “यो अवार्ड पाउनेका लागि प्रोत्साहन हुनेछ भने नयाँ पुस्ताका लागि प्रेरणाका रुपमा अघि बढ्नेछ ।”

अवार्ड अन्तर्गत उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट संघ गरेर पाँच विधामा प्रदान गरिनेछ । यस्तै अरू चार विधा खेल पत्रकारितासँग जोडिएका छन् । त्यसमा उत्कृष्ट पत्रकार प्रिन्ट, मल्टी मिडिया, भिजुअल मिडिया र फोटो पत्रकारिता रहेका छन् । प्रत्येक अवार्डसँगै ५० हजार रुपैंया नगद पुरस्कार पनि रहेको छ । जुन २३ अर्थात भोली अवार्ड वितरण गरिने भए पनि नाम भने अझै गोप्य राखिएको छ ।

यस अगाडि एनओसीले कक्षपतिको नेतृत्वमा अवार्ड विजेताको चयनका लागि एक छनौट कमिटी गठन गरेको थियो । उक्त कमिटिको सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दिपक विष्ट, अश्रेता कार्की चौधरी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close