भलिबलमा अविचलित ‘लेखनाथ’

पोखरा स्पोर्टस । दुःखमा रमाउन सक्नुनै जिवनको अभिन्न पाटो रहेको बताउने भलिबलका लेखनाथ लम्साल जिवनमा आइपरेका जस्तोसुकै समस्यामा पनि रमाउन सिकेको बताउँछन् । गण्डकी प्रदेशको उत्कृष्ट टिम बनाउने आफ्नो योजना रहेको उनी गर्वका साथ सुनाउँछन् । खेलबाट अनुशासनको पाठ मात्रै होइन जिवनको गोरेटो कोर्न सिकेका उनले धेरै ठक्कर खाए । तर अवचलित रहे । खेलकुदको अनुशासनको पाठशालामा उनी संधै एक पाइला नै अघि रहे । त्यसैले पनि उनको अनुहारमा संघै मिठो मुस्कान झल्कन्छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका ३ का लेखनाथ १६ वर्षे ठिटो अवस्थामा पढ्दा पढ्दै भलिबल कोर्ट छिरे । आफ्नो ४६ वर्ष उमेरमा आइपुग्दा समेत भलिबलबाट उनी टाढा हुन चाहेनन् । भलिबल उनको निधारको पसिनाबाट तपतपी चुहिएको मात्रै छैन नसा नसामा बगेको छ । आफू जन्मेको साढेचार दशक पछि पनि खेल खेल्न जान्नु मात्रै होइन खेलमा निपुर्ण हुन अध्ययन आवश्यक रहेछ भन्ने उनले बुझे ।

भलिवललाई जिवनको प्रतिष्ठा बनाएर अघि बढेका लेखनाथ गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन दोश्रो सेमेष्टरमा अध्ययनरत छन् । सिक्नु र सिकाउनु जिवनको आफ्नो महत्वपूर्ण पाटो बनाउने उनी वाल्यकालमा घाचोकको मेघराज मावीमा अध्ययन गरे । खेल र अध्ययनलाई संग संगै अघि बढाएका उनले २०५३ सालमा मिटशप क्लवस्तरीय भलिबलमा उत्कृष्ट खेलाडी बने । २०५४ सालमा नेपाल पुलिस गेम्समा खेले । नेपाल पुलिसबाटै २०५५ मा सुर्खेतमा खेले । उनको टिम चौथो भयो ।

उनले खेलेका केही खेलबाट सबैको आँखा उनी माथी परिसकेको थियो । उनी २०५६ सालमा नवौं दक्षिण एसियाली खेलकुद (साग)को क्लोज क्याम्पमा परे । उनी नेपाली राष्ट्रिय टिमका मुुख्य स्पाइकर समेत थिए । तर भाग्यको खेल । साग खेलको मिति धकेलियो । २०५८ सालको राष्ट्रिय खेलकुदमा समेत उनी सहभागिता जनाउन पाएनन् । उनको अन्तर्राष्ट्रिय ऐरिनामा उत्रिने भित्रै देखिको तिर्खा मेटाउने सपना भने अधुरो रह्यो । तर उनको भलिबल यात्रा भने जारीनै रह्यो । २०५९ सालमा छुट्टा–छुट्टै खेलमा उनले त्रिचन्द्र क्याम्पस र पिएन क्याम्पसबाट समेत खेले । उनी दुवै टिमबाट उत्कृष्ट खेलाडी भए । त्यसविचमा उनले भक्तपुरको वकर्स कपका तिन वटा सिरिज खेले । उनले त्यस विचमा थुप्रै क्लवस्तरीय र तिज र मेलाहरुमा हुने प्रतियोगिता समेत सहभागि भए ।

खेल जिवनको पौरखलाई धेरै नेपाली युवा सरह विदेशमा केही गर्ने योजना बुने लेखनाथले । उनी सन २००२ मा सेक्युरिटी गार्डको रुपमा कतार पुगे । ११ वर्ष कतारमा बिताए । उनी कतारमा समेत भलिबललाई संगै जिवनको अंङ्ग बनाइरहे । विदेशी भुमीमा रहेकै बेला समेत कतारमा कम्युनिटी सिरिज खेले । आफ्नी छोरी बिरामी परेको खवरले भने उनलाई विचलित बनायो । उनले कतारको जागिर छोडे अनि सन २०१७ मा स्वदेश फर्किए । छोरीको उपचारमा लाखौं खर्च भयो । उनलाई त्यती ठूलो रकम जोहो गर्न कठिन थियो । तर त्यसमा पनि भलिबलको लामो खेल जिवनले साथ दियो । विश्वभरी छरिएर रहेका भलिबल प्रेमीहरुले छोरीको उपचारमा सहयोग गरे । तर छोरीलाई प्राण भर्ने उनको त्यो सपना संधैको लागि बन्द हुन पुग्यो ।

स्वर्गिय खिमलाल र आमा पूर्ण कुमारीको कोखबाट जन्मिएका लेखनाथ अहिले पनि गाउँमा नै रमाउँछन् । विहानै उठेर घरको काम फत्ते गर्दै दैनिक कलेज जाने उनको दिनचर्या बनेको छ अहिले उनकोे । उनी स्वयसेवी प्रशिक्षकको रुपमा समेत अहिले भलिबललाई अघि बढाएका छन् । २०७५ मा सम्पन्न राष्ट्रिय भलिवलमा गण्डकीको टिमलाई उपाधि जिताए । उनले प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको सहायक प्रशिक्षक तालिममा समेत सहभागि भएका छन् । उनले आफूमा भलिबलमा आफूलाई अझै उर्जावान बनाउन लागि परेको बताउँछन् । आफू खेलेर मात्रै होइन सैद्धान्तिक ज्ञानमा समेत पोख्त हुनुपर्ने उनको भनाई छ ।

‘खेलकुद प्यासन हो, उनी भन्छन–मान्छे स्वस्थ बन्न मात्रै होइन, खेलकुदबाट केही गरौं भन्ने भए पछि, त्यो आफै मनबाट आउने रहेछ ।” जिन्दगीका पानाहरु केलाउँदै उनी थप्छन्–“आर्थिक समस्याले घर छोड्नु पर्दाका व्याथा हुन वा पैदल हिड्नु पर्ने अवस्था, कुनै दिन गोजीमा एक सुका नहुँदा कन्डक्टरले विच बाटोमा नै बसबाट झारेको दिन होस वा अहिलेको अवस्था, तर खेल जिवनले ति हरेक मोडहरुलाई चिर्न र सहि बाटो पहिल्याउन सकिने रहेछ ।”

यति बेला गण्डकी प्रदेशको भलिबल खेल खस्किएको अवस्था देख्दा उनी चिन्तित छन् । खेलाडीको संरक्षण यति बेला मुख्य विषय रहेको उनको भनाई छ । “खेलाडीलाई खेल संगै शिक्षा र रोजगार आवश्यक छ, तव मात्रै हामीले खेलाडीलाई टिकाउन सक्छौं यसमा सम्वन्धित निकायको ध्यान जान आवश्यक छ”, उनी भन्छन् । प्रदेशका राम्रा खेलाडी उत्पादन हुने वितिकै विभागिय क्लवहरुमा जाने बाटो बनेको छ । यसलाई चिर्न आवश्यक छ । खेलाडीको संरक्षण र सम्वद्र्धन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close