अन्तर्राष्ट्रिय टेबलटेनिस : ५५ वर्षमाथि राजन बने च्याम्पियन

पोखरा स्पोर्टस । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे । राजनले पहिलो सेट ११–१३ ले गुमाएपनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दोश्रो सेटमा १२–१०, तेश्रोमा ११–७ र चौथोमा ११–४ को प्रदर्शन गरे ।

आयोजक ललितपुर टेबलटेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेश्रो भए । बलीउड कलाकार समेत रहेका कपिलले महान क्रिकेटर सचिन तेण्डुल्कर र बोलीउडका चर्चित कलाकार अमिताभ बच्चनसंग पनि मैत्रीपूर्ण टेबलटेनिस खेलिसकेका छन् ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३–१, नेपाल आर्मीले भारतको बैंक अफ बरोडालाई ३–० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३–२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

बुधबारै पुरुष सिंगल्सको समूह चरणको खेल जारी रह्यो भने महिला सिंगल्सको लिग चरणका खेलहरु पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close