बगर भाई खलक एट–ए–साइड भेट्रान्स सुरु, उद्घाटन खेलमा भलाम विजयी

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ पोखरास्थित ऐतिहासिक टुँडीखेल मैदानमा सुरु भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा पोखरा वडा नं २० भलामले पोखराकै दिप यूनाइटेडलाई २–० गोलले पराजित गरेको छ । भलामका लागि मिलन राना र रमेश बस्नेतले समान १–१ गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ दि म्याच भलामका मिलन राना घोषित भएका छन् ।

यसै गरी आजनै सम्पन्न पोखराको एबिसी क्लव ‘बि’ र चितवन भेट्रान्स विचको खेलमा पाहुना टोली चितवन ५–० ले विजयी भएको छ । चितवनको जितमा खेलमा म्यान अफ दि म्याच समेत भएका शिव कुमार श्रेष्ठले २ गोल गरेका थिए भने शिवराज लामा, सुरेन्द्र चौधरी र हर्कराज गुरुङले समान १–१ गोल गरेको प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिए ।

यसै विच “पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं वगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक भव्य कार्यक्रमका विच गरेका थिए ।

“स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ ११ वर्ष अघि शुरु भएको हो । सम्पन्न उद्घाटन कार्यक्रममा पोखराका अग्रज खेलकर्मी महेश गुरुङ सम्मानित भएका छन् । उनलाई यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजकका रुपमा रहेका स्व.रञ्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ ‘एमभिओ’ लगायतले सम्मान गरेका थिए । संस्थाले खेलकुद विकासका लागि विशेष योगदान दिंदै आएका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै अध्यक्ष गुरुङले प्रतियोगितालाई ११ वर्ष सम्म निरन्तर सहयोग गर्नेहरु प्रति आभार प्रकट गरे ।

४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता हुने संस्थाका अध्यक्ष गुरुङले जनाएका छन् । भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमहरुको सहभागिता छ ।

प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गर्नेछ भने चौधरी गु्रप समेतले सह प्रायोजन गर्ने अध्यक्ष गुरुङले जनाएका छन् । उनले भने–“नेपालकै पुरानो भेट्रान्स फुटबल प्रतियोगिताका लागि सह–प्रायोजनको भूमिकामा चौधरी ग्रुप अघि सरेको छ । यो हाम्रो लागी खुसीको कुरा हो । यसका लागि सहकार्य गर्ने सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङ ज्यू र चौधरी गु्रपका अरुण चौधरीज्यूलाई आभार व्यक्त गर्न चाहन्छु ।”

प्रतियोगिता माघ १ गते सम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close