नवौं राष्ट्रिय खेलकुद : ३८ खेल, ६ हजार ८ सय खेलाडी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भए पछि ६ हजार ८ सय खेलाडीको सहभागिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नवौ राष्ट्रिय खेलकुदमा ३६ खेलको प्रतियोगिता र २ प्रदर्शनी खेलसहित गरी कुल ३८ खेलमा ६ हजार ८ सय खेलाडीको सहभागिता हुने जनाएका हुन् ।

आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिदै रग्बी सेभेन ए साइड थपिएको छ । प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ रहेका छन् । राखेपको बोर्ड बैठक शुक्रबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बैठक बसेको थियो । २०७५ सालपछि राखेपको बोर्ड बैठक पहिलोपटक बसेको हो ।

सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघका प्रतिनिधि र १ हजार निर्णायक सहभागी हुने जानकारी दिए ।

त्यस्तै चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने छ । त्यसमा अनुमानित १ सय ५० खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुनेलगायतका निर्णय बोर्ड बैठकले गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ । त्यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ खेलालाई समावेश गर्ने निर्णय गरेको छ । बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close