प्रथम बागमती प्रदेश खेलकुद : भलिबलमा चितवनलाई दोहोरो उपाधि

पोखरा स्पोर्टस । प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष र महिलातर्फ दुवैमा च्याम्पियन बनेको हो ।

बागमती प्रदेश खेलकुद परिषदद्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने । उत्कृष्ट चारै खेलाडी चितवनका हुन् ।

महिलाको उपाधि भिडन्तमा चितवनले रामेछापलाई सीधा सेटमा २५–१३, २५–१८ र २५–११ ले हरायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोस्ना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए ।

विजेतालाई बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुष÷महिलामा समान १२ टिम सहभागी थिए ।

पुरुष फुटबलमा दोलखा र ललितपुर सेमिफाइनलमा पुगे । दोलखाले भक्तपुरलाई ३–१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि मिलन श्रेष्ठ, धीरज खत्री र रमेश भट्टराईले गोल गरे । सेमिफाइनलमा दोलखाको भेट मकवानपुरसंग हुने छ ।

लतिलपुरले रामेछापलाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ बराबरीमा सकिएको थियो । सेमिफाइनलमा ललितपुरले धादिङको सामना गर्नेछ ।

यता पुरुष क्रिकेटमा ललितपुर र काभ्रेले सफलता पाए । ललितपुरले दोलखालाई सुपर ओभरमा पाखा लगायो भने काभ्रेले सिन्धुपाल्चोकलाई ९ विकेटले पन्छायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close