
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ अन्तर्गत महिलातर्फ पहिलो खेलमा नेपाल आर्मीको त्रिभुवन क्लवले सहज जित निकालेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा होङवान्जी न्य डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै जितको यात्रा सुरुवात गरेको हो ।
टिमकी उत्कृष्ट खेलाडी प्रतिभा मालीको अनुपस्थिती रहेको न्यू डायमण्ड खेलको पहिलो सेटमा न्यू डायमण्डले केही प्रतिस्पर्धात्मक रह्यो । पहिले सेट जितको नजिक रहेको न्यू डायमण्डले आफ्नो अग्रता गुमाउँदा २७–२५ ले पहिलो सेट आर्मीलाई सुम्पिन पुग्यो । दोश्रो सेटमा भने आर्मीले २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा पा–यो । यसै गरी तेश्रो सेट आर्मीले २५–२३ ले जित्दै पहिलो खेल आफ्नो पोल्टमा पारेको छ ।

आजको दोश्रो खेल मध्यान्ह १२ बजे पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल आर्मीको त्रिभुवन क्लवका विच हुनेछ । त्यस्तै आज नै हुने उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र नेपाल पुलिस क्लवका विच दिउसो साढे २ बजे सुरु हुनेछ ।
महिलातर्फ दुई टोलीको सहभागिता नभए पछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागि गराएको छ । गण्डकीको महिला टिममा तिन जना राष्ट्रियस्तरका भारतिय खेलाडीहरु टोलीमा समावेश गरिएको आयोजकले जनाएको छ । गण्डकीको महिला टिम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ ।
प्रतियोगितामा पुरुषतर्फको एक विदेशी टिम सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाको सहभागिता रहने छ ।
प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।
यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।
तस्विर : सुदर्शन रञ्जित
