प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी, गण्डकी झिनो रनले पराजित

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ भने एक अर्को खेलमा गण्डकी प्रदेश विभागिय टोली एपिएफ संग झिनो २ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै चार चौका हाने । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए ।

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए । रवीन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले प्रदेश नं १ लाई भने ३१ रनले पराजित गरेको थियो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत मूलपानी मैदानमा बिहीबार भएको खेलमा गण्डकी विभागीय टोली एपिएफ संग झिनो २ रनले पराजित भएको छ । एपीएफले गण्डकी प्रदेशलाई जितका लागि ९३ रनको लक्ष्य दिए पनि गण्डकीले ९० रन बनाउन सक्यो । गण्डकी २० ओभरमा ७ विकेट गुमाएर ९० रनमा समेटिएको थियो । अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रन आवश्यक हुँदा एपिएफका बलर किशोर महतोले ३ रन खर्चिएर २ विकेट लिएपछि एपीएफले खेलमा जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ । गण्डकीको लगातार यो दोस्रो पराजय हो ।

यता ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान दिएका थिए । विधान श्रेष्ठले २९ रन, अर्जुन कुमालले ८ रन जोडेका थिए । एपीएफका कमल ऐरीले ३ विकेट हात पारे भने किशोर महतोले २ तथा अविनाश बोहराले एक विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close