आफ्नो जन्म दिनमा पूर्व राष्ट्रिय आर्चरी खेलाडीले दिए प्रदेश च्याम्पियन सुजनलाई बो–सेट

पोखरा स्पोर्टस । आफ्नो जन्म दिनको अवसर पारेर पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनले गण्डकी प्रदेश च्याम्पियन भएका सुजन पुनलाई आर्चरीको खेल सामाग्री (रिकर्भ बो–सेट) प्रदान गरेका छन् ।

हालै पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन लाई यूके बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्णले करिव एक लाख रुपैयाँ पर्ने रिकर्भ बो सेट प्रदान गरेका हुन् । कास्की जिल्ला आर्चरी संघको समन्वयमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले उक्त खेल सामाग्री सुजनलाई हस्तान्तरण गरे ।

कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पहिलो पटक गण्डकी प्रदेशस्तरीय आर्चरीको स्टाण्डर्ड ३० मिटरको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा म्याग्दीका सुजन पुनले र्‍याङकिङ राउण्डमा २७७ स्कोरसहित शीर्ष स्थानमा रहेका थिए । उनले नकाउट चरणमा सहभागि ६९ खेलाडीलाई पछि पार्दै च्याम्पियन भएका थिए ।

रिकर्भ बो सेट प्राप्त गरेपछि सुजनले पूर्व राष्ट्रिय खेलाडी कृष्ण प्रति आभार प्रकट गरेका छन् । उनले प्राप्त खेल सामाग्रीले आफुलाई आर्चरीप्रति थप हौसला र प्रेरणा मिलेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धा आगामी लक्ष्य रहेको सुनाउँदै उनले सबैको सहयोगबाटै च्याम्पियन समेत बनेको उल्लेख गर्दै अव आफ्नो ध्यान नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने बताए ।

गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडीलाई खेल सामाग्री सहयोगले नयाँ उर्जा थपिने विश्वास व्यक्त गर्दै कृष्णको सहयोगी मनलाई धन्यवाद दिए । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले पुराना आर्चरी खेलाडीको सहयोगबाट नयाँ युवालाई आर्चरीप्रति प्रोत्साहित गर्न यस्तो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close