‘नेपाल रन’ आयोजना गरी यूकेमा नेपाली नयाँ वर्ष मनाइदैं

पोखरा स्पोर्टस । यूकेमा बसोवास गरिरहेका नेपालीहरुले नेपाली नयाँवर्षको अवसरमा यूकेमा पहिलो पटक ‘नेपाल रन’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाउने भएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर रहेको पोखरेली मञ्च यूकेले नेपाली समुदायमा नेपाली नयाँ वर्षको महत्व बारे जानकारी दिने संगै शारीरिक तन्दुरुस्ती र दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको हो । नेपाल बाहिर दर्ता भएको पहिलो पटक नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ आगामी नेपाली नयाँ बर्ष २०७९ (१६ अप्रिल २०२२, आइतवार) हुन लागेको मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले बताएका छन् ।

उक्त नेपाल रन आयोजनाको उद्धेश्य माथी प्रकाश पार्दै अध्यक्ष गुरुङले यूकेमा रहेका नेपाली यूवा पुस्तालाई आफ्नो संस्कृतीको जानकारी दिने संगै आफ्ना चाड पर्वहरुका वारेमा समेत उनीहरुलाई हस्तान्तरण गरी सदियौं देखि मान्दै आएको प्रचलनलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताए । उनले भने–“हाम्रा बावु नानीहरुले हाम्रो परम्परा विर्सिंदै गएका छन् हामी नेपालीहरुको सांस्कृती शैली छुट्टै छ, हाम्रा सन्ततीहरुले पनि हाम्रो रिती रिवाज र परम्परालाई आत्मसाथ गराउँदै लैजानुपर्छ, हाम्रो यो एउटा उद्धेश्य पनि हो ।”

बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तंदुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ । प्रविधि संगै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तंदुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा शारीरिक तंदुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक समेत रहेका सन्तोष राईले बताए ।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले नेपालको सुन्दर नगरी पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तरराष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मंच युकेका अध्यक्ष गुरुङले बताउँदै भने–“बेलायतमा मात्र नभएर मात्रीभूमी नेपालमा पनि दौड र शारीरिक तन्दुरुस्ती अभियानको प्रवद्र्धन गर्ने हामीले लक्ष्य लिएका छौं ।” यूकेको बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका सम्योजक दुर्गा गुरुङले स्थानीय समुदायले सहयोग गर्ने भएका छन् ।

उक्त कार्यक्रम सफल बनाउन पोखरेली मञ्चले गैर आवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सह संयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।

कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थाहरुलाई व्यापक सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन् ।

हालै पोखरेली मञ्चको पहलमा भएको एक भेलाका सहभागीहरुले कोरोना महामारी र विभिन्न स्वास्थ्य संकट बढीरहेको बेला समुदायलाई रोग र शारीरिक समस्याबाट बच्न र सचेत रहन सहयोग गर्ने कार्यक्रम अत्यन्त सराहनीय रहेको भन्दै उपस्थित सबैले सकेको सहयोग गर्ने जनाएका थिए ।

उक्त भेलामा पोखरेली मंचका उपाध्यक्ष करम गुरुङले संचालन गरेको कार्यकममा पोखरेली मंच र नेपाल रनका पदाधिकारीहरु साथै बेजिङ्गस्टकका स्थानीय समाजसेवीहरु प्रेम गुरुङ्ग, बल थापा, नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मी, पाण्डव महतो, उदेश देवान, जगन कार्की, सुर्य गुरुङ, राम गुरुङ लगायतको उपस्थिति रहेको मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close