जन्म दिन मनाउन अपाङ्गता भएकालाई प्याराग्लाइडिङमा उडाए शुभाषले

पोखरा स्पोर्टस । आफ्नो जन्म दिन मनाउन धेरैले अनौठौ विषयलाई रोज्ने गरेका छन् । कोहीले दुःखी, गरिवलाई खाना, नाना वाड्ने सँगै संरक्षित बालबालिका सँग समेत जन्म दिन मनाउने गरेका धेरै दृष्टान्त छन् । तिनै मध्ये एक हुन प्याराग्लाइडिङ पाइलट शुभाष थापा ‘जोनी’ । उनले आफ्नो जन्म दिन मनाउन अपाङ्गता भएका (दुवै खुट्टा) गुमाएका एक व्यक्तिलाई उडान गराएर जन्म दिन मनाए ।

शुभाषले आफ्नो ३३ औं वर्षगाँठ मनाउन सराङकोट बाट खपौदी सम्म करिव २५ मिनेट पोखराका एक अपाङ्गता भएका व्यक्तिलाई उडाए । प्याराग्लाइडिङमा जहिले पनि सँधै सहाशिक उडान भर्न रुचाउने उनले उडान भर्न थालेको १४ वर्ष पुगिसकेको छ । उनले आफ्नो जन्म दिन नजिक आइरहँदा यो पटक झनै नयाँ कुरा सोचे त्यो थियो कुनै एक जना अपाङ्गता भएकालाई उडाएर जन्म दिन मनाउने । उनले यसलाई सार्थक रुप समेत दिए ।

‘जन्मे पछि केही न केही नयाँ कुरा त गर्नै पर्छ’ शुभाष भन्छन–‘मलाई सँधै यहि कुराले झक्झकाइ रहन्छ ।’ एक्रो उडानका लागि समेत निकै सिपालु रहेका उनले अपाङ्गता भएका व्यक्ति पनि सहज रुपमा उडाएर नयाँ खुड्किलो पार गरे । ‘अपाङ्गता भएको व्यक्ति सायद प्याराग्लाइडिङ गर्न सक्छु भन्ने आँट कहिल्यै गर्न सक्दैन न त सोचेको पनि हुन्छ’ उनले भने–‘यो सफल उडान थियो, म निकै खुसी छु ।’ आफ्नो जन्म दिनको अवसरमा कुनै गरिव असहाय र विपन्नलाई प्याराग्लाइडिङ उडान गराउने सोच रहेको उनको भनाई थियो ।

शुभाषको जन्म दिनको अवसरमा उडान भरेका व्यक्ति थिए पोखराका भरत खत्री । उनले समेत आफूले प्याराग्लाइडिङमा उडान भर्ने कुरा कहिल्यै नसोचेको बताउँदै भने–‘यो मेरो लागि निकै नौलो कुरा थियो, म उहाँ प्रति निकै आभारी छु उहाँको जन्म दिन मेरो जिवनका लागि समेत अविष्मरणिय रह्यो, म उहाँलाई जन्म दिनको धेरै शुभकामना दिन चाहन्छु ।’

संसारमा प्याराग्लाइडिङको एक्रो उडान भर्ने ‘एक्रो गोल्डन एट इन्फेनिटी’को एक मात्र सामाग्री समेत शुभाष सँगै छ । विश्वभरी एक मात्र हुने उक्त सामाग्री यति बेला नेपालमा रहेको उनले बताए । प्याराग्लाइडिङमा ‘टप मेनोभर’ गर्न सक्ने उक्त सामाग्री तिन वर्ष देखि आफ्नो साथमा भएको र यो अव आफू जस्तै एक्रो उडान गर्ने पाइलटलाई हस्तान्तरण गर्ने उनले बताए । प्याराग्लाइडिङ सँगै उनले पोखरामा स्काई डाइभिङको व्यवसायिक उडनका लागि प्रयासरत छन् । उनले स्काई डाइभिङको प्रशिक्षण चिन र दुवईमा लिइसकेका छन् । ५ सय पटकको डाइभिङ पछि लाइसेन्स प्राप्त गर्ने बताउँदै उनले आफूले ३ सय ४० पटक स्काई डाइभ गरिसकेका बताए । आफ्नो प्रशिक्षण पुरा भए पछि पोखरामा स्काई डाइभिङ शुरुवात गर्ने उनले बताए ।

गण्डकी प्रदेशकै पर्यटनका लागि मुख्य आधार रहेको प्याराग्लाइडिङ उडानका लागि दैनिक ३ सय भन्दा वढि टेन्डम र सोलो उडान हुने गरेका छन् । ६० भन्दा वढी व्यवसायिक प्याराग्लाइडिङ कम्पनी, ४ सय ५० भन्दा वढी पाइलट र सैयौंको संख्यामा रोजगार दिंदै आएको पोखराको प्याराग्लाइडिङ यति बेला भने धरापमा छ । कोभिड १९ का कारण थला परेको प्याराग्लाइडिङ उकास्न शुभाष जस्ता मेहनती पाइलटहरु कसरत त गर्दैछन् तर पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पछि विश्वकै दशौ स्थान भित्र पर्ने पोखराको प्याराग्लाइडिङ के हुने भन्ने बारे अझै एकिन भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close