प्रदेश खेलकुद परिषद गण्डकीले सहायक प्रशिक्षक तालिम सञ्चालन गर्ने

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले सहायक प्रशिक्षक तालिम सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा खेलकुदको गतिविधिलाई तिव्र बनाउने संगै सहायक स्तरको प्रशिक्षकहरु उत्पादन गर्न तालिम सञ्चालन गर्न लागेको हो । परिषदले गत कार्तिक ६ गते सार्वजनिक सूचना मार्फत सहायक प्रशिक्षक हुन चाहनेहरुका लागि आवेदन मागेको सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।

प्रकाशित सूचना अनुसार तालिममा सहभागिताका लागि नेपाली नागरिक, कक्षा १२ उर्तिण गरेको हुनुपर्नेछ भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भएको खेलाडीले एस.ई.ई वा सो सरह उर्तिण गरेको हुनुपर्ने जनाइएको छ । त्यसै गरी जुन खेलको प्रशिक्षक हुन चाहेको हो त्यो खेलको राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनिवार्य सहभागिता भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा समावेश भएका खेलहरुलाई प्राथमिकता दिइएको छ भने केही सहाशिक खेलकुदलाई समेत समावेश गरिएको परिषदका सदस्य सचिव गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । “यो कार्यक्रम खेलकुद परिषदले पहिलो पटक आयोजना गरेको हुनाले हामीले यो वा त्यो खेल भनेका छैनौं,” उनले थपे–“हामी प्रदेशको खेलकुद अगाडी बढाउन राम्रो प्रशिक्षक उत्पादन होस भन्ने चाहन्छौ । उनले सूचनामा उल्लेख भएको मापदण्ड पुरा गरेर आएमा सवैलाई अवसर दिइने उल्लेख गर्दै भने–“हामी यो प्रशिक्षण सञ्चालनका लागि निकै उत्साहित छौं हामीले आशा गरे बमोजिम यसका लागि गण्डकी प्रदेशका सबै जिल्लाबाट प्रशिक्षणका लागि आउने सोचेका छौं ।”

अहिले प्रदेशमा प्रशिक्षकको अभावले धेरै जसो खेलका गतिविधि प्रायः सञ्चालनमा कठिनाई भइरहेको बताउँदै भएका प्रशिक्षकहरु पनि ‘रिफ्रेशर’ प्रशिक्षण नहुँदा परम्परागत अभ्यासमा नै प्रशिक्षण गराईरहेको सदस्य सचिव गुरुङले उल्लेख  गरे । “हामी अझै परम्परागत प्रशिक्षणमा नै छौं । खेल, खेल मात्रै होइन साइन्स अर्थात विज्ञान पनि हो । प्रशिक्षकले आफ्ना खेलाडीलाई मनोवैज्ञानिक रुपमा तयार गर्नुपर्छ । खेलाडीको दैनिक स्वास्थ्यलाई पनि उत्तिकै ख्याल राख्नुपर्छ। पदक जित्नै पर्छ भन्ने आफ्नो तर्क होला तर खेलाडीलाई पदक जित्न आवश्यक गुण अनि खेल जित्ने मन्त्रहरुका लागि कसरी प्रशिक्षण दिनुपर्छ भन्ने विषय पनि अर्को पाटोमा उत्तिकै महत्वपूर्ण छ ।

करिव तिन महिना सम्म सञ्चालन हुने उक्त तालिममा शैद्धान्तिक ज्ञान संगै सहायक प्रशिक्षकका लागि आवश्यक प्रयोगात्मक समेतको प्रशिक्षण दिइने प्राविधिक कमिटीका संयोजक समेत रहेका कृष्ण तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार प्रदेशले सञ्चालन गर्ने प्रशिक्षण अनलाइन वा फेस टु फेसका दुवै माध्यमबाट हुने जानकारी दिंदै यसका लागि काठमाडौं र गण्डकी विश्वविद्यालयका विज्ञहरु समेतले स्पोर्टस साइन्स लगायतका विषयमा अध्यापन गराउने बताए । सहायक प्रशिक्षक उत्पादन गर्न यस प्रकारका तालिमहरु सञ्चालन नभएको लामो समय वितिसकेको बताउँदै उनले भने–“यो प्रशिक्षक हुनका लागि राम्रो अवसर हो, जो हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबाट अवकास पाएका छन् वा आफ्नो भविष्य खेल क्षेत्रमा देखेका छन म उनीहरुलाई तालिममा सहभागि हुन आग्रह गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close