
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले दशै तिहार लगतै जिल्ला खेलकुद विकास समितीहरु विघटन गर्ने तयारी भइरहेको बताएका छन् ।

कास्की जिल्ला बक्सिङ संघको पदस्थापन तथा नेपालीहरुको पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । उनले खेलकुद भित्र एमालेकरण भइरहेको प्रति इगिंत गर्दै भने–“पूर्ववती सरकारले जिल्ला खेलकुद विकास समितीमा एमालेका मान्छे मात्रै रजनितिक नियूक्ति गरेको रहेछ, खेलकुद भित्र यस्तो राजनितिकरण हुनु हुँदैन, खेलकुदमा सवै अट्ने बनाउनु पर्छ ।”

यूवा तथा खेलकुद मन्त्रालय प्रदेशका सवै जिल्लामा खेलकुद गतिविधीहरु अघि बढाउन प्रदेश सरकार प्रतिवद्ध रहे पनि सोचे जस्तो बजेट नहुँदा समस्या भएको बताए । उनले अव चाँडै नै केही खेलका प्रशिक्षकहरु उत्पादन गर्नेतर्फ अघि बढिरहेको जानकारी गराउँदै मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुदका छुट्टाइएको बजेटबाट समेत खेलकुदका सामाग्रीहरु खेलसंघहरुलाई उपलव्ध गराउनेतर्फ मन्त्रालयले सोच अघि बढाएको बताए । उनले भने–“हामी संग सिमित स्रोत साधन छ तर पनि हामी यहाँहरुलाई केही न केही सहयोग गर्छौ ।”


पोखरा रंगशाला संघिय सरकारले प्रदेशलाई हस्तान्तरण नर्गदा सम्म कुनै पनि खेल विकासका गतिविधी नर्गने बताउँदै मन्त्री गुरुङले भने–“पोखरा रंगशाला भित्र धेरै समस्या छ, अहिले नै त्यहाँ कुनै पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले कुनै लगानी गर्दैन जव सम्म प्रदेश सरकारलाई हस्तान्तरण हुँदैन ।” उनले पोखरा रंगशालाका विषयमा अव चाँडैनै संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री संग छलफल गर्ने बताए ।
यूवा तथा खेलकुद मन्त्री गुरुङले कास्की जिल्ला वक्सिङ संघको गत असारमा नवनिर्वाचित कार्यसमितीलाई वधाई दिंदै पदस्थापन गराएका छन् ।
कार्यक्रममा आफ्ना धारणा अघि सार्दै खेलकुद विकास का लागि एक जुट हुनुपर्ने प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । उनले भने–“अहिले खेलकुद भित्र काम गर्ने भन्दा पनि एकले अर्कोको कुरा काटेर समय विताउने गरेको देखिन्छ यो खेलकुद विकासको बाटो अवरुद्ध गर्ने बाटो हो ।” उनले खेलकुद विकासका लागि संकल्प गर्ने समय आएको बताउँदै भने–“कसैलाई दोष देखाएर भन्दा पनि मिलेर के गर्यो भने हाम्रो समाजमा खेलकुद स्थापित गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्न आवश्यक छ ।”
सदस्य सचिव गुरुङले खेलकुद भित्र वग्रेल्ती समस्या र चुनौती रहेको बारे आफ्ना भनाई अघि सार्दै भने–“समस्या र चुनौती संग जुझ्न हामी आएका हौं समस्याको भारी पनि वोकिरहेका छौं,” उनले थपे–”चुनौती र समस्याका विच हामी खेलकुदलाई समाजमा कसरी स्थापित गर्ने भन्ने बारे समेत गम्भिर भएर अगाडी वढ्दैछौं ।” उनले प्रदेश खेलकुद योजनावद्ध रुपमा प्रदेशको खेलकुद विकासका लागि अघि बढेको बताउँदै सवै खेलकर्मीहरुले आफू खेलाडी हुँ भन्ने गर्व सकेमा मात्रै खेलकुद विकासले गति लिने बताए । नेपाली वक्सिङले अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकोले मिलेर वक्सिङ खेलको विकासमा अघि बढ्न उनले आग्रह समेत गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरु पदस्थापन भएर आएको ६ महिना वितिसक्दा समेत खेलकुदको दोहोरो नितिका कारण अघि बढ्न नसकेको बताए । उनले भने–“हामी निकै उत्साहका साथ खेलकुद विकासका लागि आएक थियौं । हामी कार्यालय नहुँदा समेत विचलित नभई आफ्नै गोजीको खर्च गरेर कार्यालय व्यवस्थापन गर्यौं । खेलकुदमा हामीले कहिल्यै पनि राजनितीको कुरा गरेनौं न त रंगशालालाई कुनै राजनितिक पार्टीको थलो वन्न नै दियौं,” उनले थप स्पष्ट पार्दै भने–“हामी जुन सोचका साथ आएका थियौं खेलकुदको दोहोरो नितीले हामी चेपुवामा परेका छौं । सरकारले हटाउन खोजेको रहेछ बरु छिटो हटाओस ।”
कार्यक्रममा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले वक्सिङ खेल संगै अन्य खेलहरुको विकासका लागि महानगर खेलकुद समिती प्रतिवद्ध रहेको जनाए ।
कास्की जिल्ला वक्सिङ संघले आयोजना गरेको उक्त कार्यक्रममा वक्सिङ खेलको विकासमा योगदान दिने विभिन्न महानुभाव संगै वक्सिङका प्रशिक्षकहरु आठौं राष्ट्रिय लगायत विभिन्न वक्सिङ प्रतियोगितामा विजेता खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।
कास्की जिल्ला वक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ वक्सिङ प्रशिक्षक विद्या मर्सानी, सचिव संजिव श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।
