पोखरामा फुटबलको भविष्य खोज्दै प्रशिक्षक शम्भु केसी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखराबाट फुटबलमा राष्ट्रिय तहमा धेरै खेलाडी उदाय । आफू मैदानमा उपस्थित रहे सम्म खेले । मैदान बाट बाहिरिने स्थिती आए पछि आफ्नै पेशामा जुटे त कोही विदेश तिर हानिए ।

कुनै बेला स्वर्णिम युग मानिएको गण्डकीको फुटबल यति वेला खस्किएको छ । “गण्डकी भन्ने वित्तिकै नाक ठाडो हुन्थ्यो” भन्छन फुटबलका सिनियर प्रशिक्षक शम्भु केसी–“तर अहिले राष्ट्रिय स्तरमा यस क्षेत्रबाट प्रतिनिधत्व गर्ने खेलाडीको संख्या नगन्य छ ।” पोखराका शम्भु केसी त्यस्ता प्रशिक्षक हुन आफू ६३ वर्षको उमेरमा टेक्दा पनि निरन्तर फुटबलको भविष्य कोर्न व्यस्त छन । उनी यति बेला पोखरामा कलिला उमेरका खेलाडी बाट फुटबलको भविष्य खोजिरहेका छन ।

पोखरामा जव नेपाली फुटबलको छाता संस्था एन्फाले ग्रास रुट लेभलको फुटबल कार्यक्रमको शुरुवात ग¥यो उनी त्यसमा आवद्ध भए । खेलकुदको २५ वर्षे जागिरे जिवनबाट अवकाश पाएका शम्भुले आफ्नो समय यति बेला त्यही खर्चिदै छन । भर्खरै आफ्नो आमाको काख छोडेर हिड्न थालेका बालकहरु बाट शम्भुले गण्डकीको फुटबलको सपना बुनेका छन । कोपिला जस्तै छोरा छोरीलाई अभिभावकले मैदान सम्म डो¥याउँदै ल्याएर शम्भुको पदचापमा छोड्छन । आफ्ना नाती–पनाती उमेरका ति कलिला वावुनानीलाई फुटबलको भविष्य देखाउँदैछन शम्भुले ।

शम्भु फुटबलका राष्ट्रिय खेलाडी मात्रै थिएनन । उनले प्रशिक्षणको ज्ञान र शिप सिके । यौवनकालमा फुटबलमा गण्डकीको इतिहास रचे । यति बेला घरमा बसेर आराम गर्ने समयमा उनी संधै मैदानमा देखिन्छन । कलिला भुराहरुलाई बल सँग दौडाउँछन । आफू पनि दौडिन्छन । उनलाई अरु जस्तो गफ गरेर समय खेर फाल्नु छैन । घाम झुल्के सँगै मैदानमा देखा पर्ने उनी फुटबलको भविष्य कोर्न व्यस्त छन । न त उनलाई पदको लोभ न त तलवको ।

२०३० साल बाट पोखराको फुटबलमा छाएका केसी उमेरले ६३ वर्ष पुग्दा समेत फुटबल बाट थाकेका भने छैनन । २०४० साल देखि २०४६ सम्म गण्डकीको कप्तानी सम्हालेका केसी २०४० सालमा फ्रेण्डस क्लवमा आवद्ध समेत थिए । सन १९८० मा भारतको प्रख्यात क्लव मोहमोडन फुटबल क्लव को ‘बि’ टिमको सदस्यको रुपमा रहेका उनी २०४१/२०४२ सालमा नेपाली सेना र २०४३ सालमा पुलिस क्लवबाट समेत खेले । लामो समय देखि पोखराको फुटबल उकास्न प्रशिक्षणमा व्यस्त रहेका केसी भन्छन–“राष्ट्रिय प्रतिभावान खेलाडी धेरै उत्पादन गरें तर अझै थाकेको छैन । म अझै सिक्दै छु भने नयाँ पुस्ताका खेलाडी जन्माउन आतुर छु ।”

कास्की एन्फाको दृढ अठोट नभएका कारण यहाँको फुटबलले गति लिन नसकेको बताउँदै एन्फाले केवल चुनावी खेलमा मात्रै लाग्न नहुने प्रशिक्षक केसीको भनाई छ । “म ६३ वर्षको मान्छे त फुटबल बनाउन लागि परेको छु, यहाँको फुटबल जोगाउने काम गर्नु पर्छ” उनी थप्छन–“म अझै केही प्रतिभा जन्मन्छनकी भनेर खोज्ने अभियानमा जुटेको छु ।” आफूले राष्ट्रलाई धेरै खेलाडी दिन सफल भएको बताउँदै प्रशिक्षक केसी भन्छन–“हामीलाई सर्पोट गर्नुस पोखरा जुन स्वर्णिम युगमा थियो त्यही रुपमा अगाडी आउन सक्छ ।”

पोखरामा मनाङ मर्स्याङदी क्लव जस्तो राम्रो क्लव आउनु यहाँको फुटबलको वातावरण राम्रो बन्न सक्छ । उनले भने–“एक जना राम्रो खेलाडी उत्पादन भयो भने त त्यसले निश्चय नै हामीलाई फाइदा हुन्छ भने एक प्रतिभाशाली खेलाडी जन्मिन्छ ।” मनाङ मर्स्याङदी पोखरा आयो भने यहाँका क्लव र खेलाडीले पनि फाइदा लिन सक्ने बताउँदै यस्ता राम्रा क्लवहरु धेरै भन्दा धेरै क्लव क्लव आउनु पर्ने उनको भनाई छ । “एकेडेमीहरु क्लवहरु चलाउने एन्फाले पुलको काम गर्ने हो, तर यहाँ ठिक उल्टो भएको छ” उनी भन्छन ।

यस क्षेत्रको फुटबल विकासका लागि विभिन्न उमेर समुहका प्रशिक्षण हरु सञ्चालन हुनु पर्ने बताउँदै अव प्रशिक्षकहरु हाजिर हुने दिनलाई त्याग्नु पर्ने बताए । “हामी फुटबलमा कहाँ छौं भनेर खोज्ने वेला आएको छ”, उनले अगाडी भने–“अहिले फुटबल विकास तार चुँडिए जस्तै भएको छ, कसैले पनि पुलको काम गरेनन धेरै राम्रा खेलाडी पलायन भए, उनीहरुले अवसर नै पाएनन ।” सवै एकजुट भएर अगाडी बढेमा पोखरेली फुटबलको गुमेको शाख फर्किने उनको भनाई छ ।

पोखराको फुटबलको विकास क्रमलाई पाँच भागमा बाँडनु पर्ने बताउँदै २०३० को दशकमा पावर गेम वढी खेलिने र रुचाइने गरेको प्रशिक्षक केसीले बताए । २०३० देखि ०४०को दशकमा केही खेलाडीहरु उत्पादन भएको उनी बताउँछन । मेजर लक्ष्मण प्रसाद गुरुङ, आनन्द रञ्जित, कृष्ण थापा, नक्कल गुरुङ, शुक वहादुर गुरुङ, खेम बहादुर गुरुङ, डम्वर सिह गुरुङ जस्ता खेलाडी उत्पादन भए राष्ट्रिय फुटबलमा आफ्नो शाख छोडेको उनको मानस पटलमा अझै ताजा छ । ०४० देखि ०५० को दशकमा तत्कालिन गण्डकी अञ्चलले पुष्प केसी रमेश गुरुङ, राजु गुरुङ तत्कालिन खेलाडी राष्ट्रिय खेलाडी उत्पादन भएको उनी सुनाउँछन । तर पोखराको फुटबलको स्वर्णिम युगको समय भनेको २०५० देखि २०६० सम्म भएको प्रशिक्षक केसीको भनाई छ ।

पोखरामा तत्कालिन अवस्थामा वसन्त गौचन, विशन गौचन, राजेन्द्र तामाङ, सुरज थापा, उज्जवल रञ्जित, स्व विल तामाङ, राज कुमार श्रेष्ठले राष्ट्रिय टिममा छाप छोडेको उनलाई अहिले जस्तै लाग्छ । २०६० देखि यताको समयमा निकै मध्यम रहन पुगेको उनले बताए । एकेडेमी लेभलमा खेलाडी राम्रा भए पनि माथिल्लो लेभलमा खेलाडीको शाख गुम्ला उनलाई चिन्ता छ । सेभेन ए साइडको पार्दुभाव संगै पोखराको फुटवल खस्कियो उनी निर्धक्क बताउँछन । “सेभेन ए साइडमा पैसा भयो यता भएन खेलाडी सवै उतै लागे अनि यता फुटबलको शाख गुम्यो कसैलाई यसमा चिन्ता नै भएन” उनले भने । जसकारण क्वालिटीका खेलाडी उत्पादन हुन छोडेको बताउँदै उनले भने–“यसमा न त एन्फाले ध्यान दियो न त जिल्ला खेलकुदले । पोखराको अहिले भनेको राष्ट्रिय खेलाडी भनेको एक मात्र अजित भण्डारी मात्रै हुन जे पुलिसमा आवद्ध छन ।”

पोखराको फुटबल विकासका लागि तिन चिजमा ध्यान दिनु पर्ने बताउँदै प्रशिक्षक केसी भन्छन–“प्रशासक (जिल्ला खेलकुद), शासक (एन्फा) र खेलाडी तिन भागमा वाँड्नु पर्छ, प्रशिक्षकको कुरा छोडदिनुस, प्रशिक्षक त हेरालो मात्रै हो तर यि तिन कुरामा समन्वय भए मात्रै फुटबल विकासले गति लिन्छ ।” “फिफाले प्रशिक्षण गर्ने खेलाडीलाई कम्तिमा एउटा बल देउ, विफ देउ, सवै सुविधा देउ भन्छ तर तत्कालिन देखि अहिले सम्म एन्फाका पदाधिकारीको ध्यान प्रशिक्षण तिर ध्यान नै छैन,” उनले थपे–“वुझाईमा फरक, पदाधिकारीले कति आत्मसाथ गरे भन्ने प्रश्न उव्जिन्छ भने हो यहाँ त २२ जनाले खेल्ने एउटै भकुण्डो ले त हो नी भन्ने जस्ता जवाफ पाइन्छ अनि भन्नुस कसरी फुटबलको विकास हुन्छ अनि प्रशिक्षकले कसरी काम गर्न सक्छ ।”

पोखरामा फुटबल खेलाडी हुँदै नभएको भन्ने प्रसङ्गको वुझाई पनि गलत रहेको धराणा अघि सार्दै प्रशिक्षक केसीले एन्फाले आफ्नो कामलाई प्राथमिकता नदिंदा भएका खेलाडी समेतले उचित स्थान पाउन नसेकेको उनले बताए ।

अहिले पनि पोखराको एकेडेमीमा एक दमै सुनौलो अवसर रहेको बताउँदै मनाङ पनि त्यही लोभले पोखरा आएको प्रशिक्षक केसी बताउँछन । “हामीले एकेडेमी स्तरमा राम्र खेलाडी उत्पादन गर्यौ तर माथीको लेभलमा गए पछि वास्ता गर्न छाडिदियौं अनि उनीहरु कोही सेभेन ए साइडमा छिरे भने कोही विदेश तिर” उनको यसमा फुटबल नेतृत्व प्रति गुनासो छ–“यो खेलाडीका लागि ठूलो दुर्भाग्य हो, यहाँ खेलाडीलाई टेक्ने ठाउँ ता चाहियो नि, टेको नै नभए पछी खेलाडी कसरी टिक्छन ?” १२ कक्षा पास गरेपछि खेलाडीले मैदान उत्रिने मौका नै नपाएको र उनीहरु पलायन भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close