
पोखरा, २१ असार । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा संघको बार्षिक कार्यक्रम अनुरुप तेश्रो नेपाल स्ट्रङ गेष्ट २०१९, सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता श्रावण महिनामा आयोजना हुने भएको छ ।
भारोत्तोलन खेल मार्फत राष्ट्रकोलागि सर्वाधिक पदक दिलाउन सफल ओलम्पियन तथा प्रशिक्षक सुनिललाल जोशीको स्मृतीमा संघले दुई संस्करण भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । महिला तथा पुरुष (सिनियर तथा जुनियर) राष्ट्रियस्तरको प्रतियोगिता श्रावण २४ र २५ गते गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ र एशियन भारोत्तोलन महासंघको नियमानुसार खेलाईने प्रतियोगितामा सिनियर तथा जुनियर तर्फ अन्तराष्टिय एरिनामा आयोजना हुने सवै तौल समूहमा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराएका छन ।
बिजेन्द्रलाई पुनः अध्यक्षमा जिम्मेवारी
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बिजेन्द्र बिक्रम शाहलाई अध्यक्षमा जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त र सचिव तीलक राउतको उपस्थितीमा भएको संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा रुकेश तण्डुकार र विपेन्द्र महर्जन रहेका छन् ।
यस्तै सचिवमा अशोक शाही तथा कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ रहेका छन् । सदस्यहरुमा अजय शाही, राकेश महर्जन, रुपक तण्डुकार, श्यामकृष्ण शाही रहेका छन् । यस्तै संघको पहिलो बैठकले देवकुमार महर्जन, भोगेन्द्र मानन्धर, परमेश्वर जोशी र अनिता श्रेठलाई संघको सदस्यमा मनोनित गरेको छ ।
