“नेपालमा हाप्किडो खेलले इतिहास रच्ने छ”–मुख्य प्रशिक्षक सुष्मिता

केशव पाठक/ पोखरा स्पोर्टस । नेपाली खेलकुदको क्षेत्रमा महिला मुख्य प्रशिक्षक हुनु निकै कठिन विषय हो । तर सुष्मिता गुरुङ मार्शल आर्टस खेल हाप्किडोको मुख्य प्रशिक्षक हुन । उनको एक मात्रै ध्येय नेपाली माटोमा हाप्किडो खेलको विकासका लागि अघि वढ्ने रहेको छ ।

चितवन टाँडीकी सुष्मिता कक्षा ८ मा पढ्दा बाट नै मार्शल आर्टस खेल तर्फ छिरिन । उनलाई त्यो दिन राम्रै संग सम्झना छ । नेपाली सेनामा कार्यरत आफ्ना वुवा जो आफै पनि खेलाडी थिए आफ्नी छोरीलाई ल्याइदिएको ड्रेस लगाएर खेलकुदमा छिरिन । १६ वर्ष अघिको त्यो विरलै लाग्ने घटना सम्झिदै उनी भन्छिन–“चितवन जस्तो ठाउँमा महिला खेलाडी मार्शल आर्टस खेलमा लाग्नु त्यही पनि सिकाईको पहिलो दिनमा नै ड्रेस सहित अनौठो नै थियो ।”

तर यति बेला समयले कोल्टे फेरिई सकेको छ । सुष्मिता आफू नै यस्तो ठाउँमा छिन जहाँ नेपाली बालबालिको खेल संग उनीहरुको भविष्य गाँसिएको छ । एक वर्ष भयो उनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको । हाप्किडोको पछाडी लाग्नुको मुख्य कारण खुलाउँदै सुष्मिता भन्छिन–“यो ‘सेल्फ डिफेन्स’ का लागि निकै महत्वपूर्ण छ” उनी थप्छिन–“डिफेन्सका लागि अन्य खेल पनि छन तर हाप्किडो अन्य खेलको दाँजोमा निकै उच्चस्तरको रक्षात्मक शैली मात्रै नभई निकै सहज छ ।”

नेपाली समाजमा छोरा भन्दा छोरीलाई फरक दृष्टिकोणले हेर्ने प्रचलन यद्धपी कायमै रहेको तर्फ उनी पनि चिन्तित छन । तर हाप्किडो खेलमा उनी धेरै महिला खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताउँछिन । उनले भनिन–“हाम्रा छोरीहरुलाई अध्ययन संगै शुरक्षित वातावरण समेत आवश्यकता पर्छ । शुरक्षित वातावरण भन्नु नै ‘सेल्फ डिफेन्स’ हो । उनीहरुमा निर्धक्क भएर हिंड्ने वातावरण बनाउनु छ । त्यसैले पनि हाप्किडो खेलबाट उनीहरुलाई त्यो ‘कन्फिडेन्स’ प्राप्त गर्न सक्छन ।”

खेल संगै अध्ययन पनि महत्वपूर्ण रहेको धारणा राख्छिन सुष्मिता । हाप्किडो खेलमा आउने हरुको सबै भन्दा राम्रो पक्ष भनेको नै खेलाडीहरुलाई अध्ययनको निरन्तरता दिनु हो । “खेल जिवनमा अध्ययन महत्वपूर्ण पाटो हो । हामी उनीहरुलाई पढ्न प्रेरित गर्छौ । पारिवारिक कारणले अध्ययन अगाडी वढाउन नसक्ने हरुलाई समेत हामी सहयोग गर्छौं । खेल पोशाक दिन्छौं,” उनी भन्छिन–“हाप्किडोको प्रायः खेलाडीहरु गाउँ–गाउँ बाट आएको हुनाले पनि ति खेलाडीहरुको आफ्नै समस्यामा जुझिरहेका हुन्छन । हामी उनीहरुको समस्याको पहिचान गर्दै खेलमा अगाडी बढाउँछौ ।”

हाप्किडो शब्द नै तिन वटा मुल मन्त्र सद्भाव, उर्जा र लक्ष्य रहेको बताउँदै मुख्य प्रशिक्षक सुष्मिताले भनिन–“जहिले पनि यि तिन वटा मन्त्रले घच्घचाइरहेको हुन्छ र हामी हाप्किडोका खेलको माध्यमबाट समाजमा यो मन्त्र सबैलाई बाँड्न चाहन्छौ ।” हाप्किडोमा कुनै एक नयाँ खेलाडी आउने वित्तिकै पहिलो काम त्यो खेलाडीको ‘काउन्सिलिङ’ गर्ने र उनीहरुको आवश्यक्ता परिपुर्ती गर्ने बारे गम्भिरताका साथ अघि बढेको छ । “शिक्षा, रोजगार र चेतना अभिवृद्धी यि तिन कुरालाई हाप्किडोले संग–संगै डोर्‍याएको छ, त्यही भएर पनि होला छोटो समयमा नै यो खेलको विकास देशव्यापी बन्न पुग्यो” उनले भनिन ।

हाप्किडो मार्शल आर्टस एक कोरियन खेल । १० वर्ष अघि नेपाल भित्रियो । उनी आफूले खेल्दै गरेको खेल छोडेर त्यतै लागिन । त्यस पछि पछाडी फर्किएर हेर्नु परेको छैन । २०७३ सालमा विधिवत रुपमा दर्ता भएको हाप्किडोको ६० भन्दा वढी जिल्लामा विस्तार भइसकेको छ । ३५ हजार भन्दा वढी खेलाडी छन । ३ सय भन्दा वढी प्रशिक्षक छन । २०७६ सालमा पहिलो पटक रोल्पामा राष्ट्रिय च्याम्पियनशिप आयोजना गरेको हाप्किडोले छोटो अवधिमा नै आधा दर्जन भन्दा वढी राष्ट्रिय च्याम्पियनशिप प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ भने सन २०२२ मा वर्ल्ड हाप्किडो च्याम्पियनशिपको तयारीमा आन्तरिक रुपमा जुटेको छ । त्यो अवधि सम्म नेपालमा एक लाख खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको बताउँछिन सुष्मिता । “हामी त्यो मात्रै होइन नवौं राष्ट्रिय खेलकुदमा हाप्किडो खेल भित्राउने र यसलाई १४ औं दक्षिण एशियाली खेलकुद (साग)मा पुर्याउने अभियानमा छौं” उनी भन्छिन–“पक्कै पनि यसका लागि ठूलो त्याग र तपस्याको खाँचो छ ।”  यहि वर्ष रसियामा हुने वर्ल्ड च्याम्पियनशिपको लागि समेत तयारी गरिरहेको उनले बताइन ।

भलिवलका खेलाडी तेज बहादुर राना संग वैवाहिक सम्वन्ध गाँसेकी सुष्मिताको तिन वर्षकी छोरी छन । घर परिवारबाट निकै सहज वातावरण रहेको बताउँदै भन्छिन–“श्रीमान खेलाडी भएर होला मलाई निकै ‘सर्पोट’ गर्नुहुन्छ । मुख्य प्रशिक्षकको नाताले कुनै खेलको निर्णायक भएर वसिरहँदा उहाँमा जहिले पनि खुसीको भाव देख्छु । सायद संसारमा उहाँ नै त्यस्तो व्यक्ति होला जो मेरो सफलतामा खुसी देखिनुहुन्छ र मलाई हौसाइरहनु हुन्छ ।”

अव हाप्किडो खेललाई अगाडी वढाउने जिम्मा मुख्य प्रशिक्षकको हैसियतले उनको काँधमा त्यो जिम्मेवारी पनि छ । तर उनी आफ्नो कर्तव्य पथमा कति पनि विचलित छैनन । उनी भन्छिन–“जसरी एउटा नदी ढुङ्गा माथी ठक्कर खाँदै कठिन पूर्वक आफ्नो गन्तव्यमा हिँड्छ खेल जिवन पनि त्यही हो । तर जव हामी अनेक परिस्थितीका वावजुद सफलता प्राप्त गछौं तव हामीलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ । म त्यही बाटोमा छु पक्कै हामीले सफलता पाउनेछौ ।” नेपाली खेलकुदको क्षेत्रमा एक अठोटका साथ अघि बढेकी सुष्मिताका भनाईमा चमक छ । उनी नेपालमा हाप्किडोको खेलको विकासका लागि लक्ष्यका साथ अगाडी बढेकी छन । उनको आत्मविश्वासले लाग्छ पक्कै पनि उनी आफ्नो लक्ष्यको नजिक छिन । हाप्किडो संघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी उनी हाप्किडो खेलको विकासका लागि अघि बढेको यात्रा पक्कै सफलता प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close